गृहपृष्ठ गृह मन्त्रालयले भन्यो– उद्धार तथा राहतका लागि सरकार गम्भीर छ
गृह मन्त्रालयले भन्यो– उद्धार तथा राहतका लागि सरकार गम्भीर छ
प्रभावित क्षेत्रमा केन्द्र सरकारले पठायो ४६८ वटा त्रिपाल
गृह मन्त्रालयले आइतबार साँझ आएको हावाहुरी तथा असिनापानीका कारणले घाइतेहरूका निःशुल्क उपचार भइरहेको दाबी गरेको छ । मन्त्रालयले सोमबार एक बुलेटिन जारी गरी नेपाली सेनाबाट एउटा र नेपाल प्रहरीबाट दुइटा गरी जम्मा ३ वटा मेडिकल टोली प्रभावित स्थलमा खटिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हावाहुरीबाट प्रभावितहरुलाई स्थानीयस्तरमा भण्डारण गरिएको आपतकालीन राहत सामग्रीहरु वितरण गरिएको छ भने राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको समन्वयमा त्रिपाल तथा लताकपडा सहितको ३ ट्रक राहत सामग्रीहरु प्रभावित क्षेत्रमा पुगेको दाबी गरिएको छ ।
सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरुको बैठक वसी तत्काल उद्धार र राहतका अत्यावश्यक व्यवस्था गर्नुका साथै घटनामा प्रभावित व्यक्ति, परिवार तथा सम्पति क्षतिको विवरण संकलन गर्ने कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयको बुलेटिनमा उल्लेख छ ।
मन्त्रालयले बारा तथा पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको र ६ सय ८८ जना घाइते भएको जनाएको छ । मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले २८४ घाइतेहरु उपचारपछि घर फर्किसकेका जनाएको छ ।केन्द्रका अनुसार ७ जना गम्भीर घाइतेहरुको थप उपचारको लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याई त्रि.वि. शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
केन्द्रका अनुसार सबै २७ जना मृतकको पहिचान भइसकेको छ, जसमध्ये पुरुष- १०, महिला- ११, बालक- ३ र बालिका- ३ जना रहेका छन् ।
केन्द्रले घटना लगतै प्रभावित जिल्लाहरुले सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवक, स्थानीय जनसमुदाय लगायत परिचालन गरी खोज उद्धार तथा राहत वितरण कार्य भइरहेको जनाएको छ भने प्रदेश सरकार, स्थानीय तहसँगको समन्वयमा आवश्यक साधनस्रोत परिचालनसहित खोज, उद्दार तथा राहत कार्यमा समन्वय भइरहेको बताएको छ ।
प्रदेश नं. २ मन्त्रिपरिषद्ले मृतकका परिवारहरुलाई प्रति परिवार रु. ३ लाख राहत उपलब्ध गराउने, घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, घटनाको अध्ययन गरी तत्काल राहत तथा उद्धारका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
घटना स्थलको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीउपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा , भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, शहरी विकास मन्त्री मोहमद इस्तियाक राइ, गृह सचिव प्रेमकुमार राइसहित तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको टोली सोमबार बारा तथा पर्सा पुगेको थियो ।
प्रकाशित समय १९:१७ बजे






















