गृहपृष्ठ राहत नपाएको पीडितहरूको गुनासो, सरकार भन्छ- कमी गरिएको छैन
राहत नपाएको पीडितहरूको गुनासो, सरकार भन्छ- कमी गरिएको छैन
सरकारले बारा र पर्साका हावाहुरी प्रभावितलाई सक्दो उद्धार र राहत विरण गरिएको जनाएको छ । पीडितले सरकारी राहत नपाएको गुनासो गरेपछि गृहमन्त्रालयले राहत र उद्धारमा कमी नगरिएको जनाएको हो । उद्धारमा खटिएका सुरक्षाकर्मीले अस्थायी टहरा पनि बनाइरहेका गृहमन्त्रालयले भनाइ छ ।
४ सय ६८ थान त्रिपाल, सर्ट, पाइन्ट तथा लत्ताकपडा ४ हजार १ सय ३८ थान तथा २ रोल कपडासहित तीन ट्रक सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए । गृह मन्त्रालयले राहत तथा उद्धारमा कुनै कमी नगरिएको दाबी गरेपनि पीडितहरूले अत्यावश्यक सामग्री नपाएको गुनासो गरेका छन् ।
‘धेरै क्षति भएको समयमा पीडितले तत्कालको लागी दिइएको सिमित राहत थोरै भएको महशसुस गरेका होलान्, पठाइएको त्रिपाल तथा खाद्यन्न पीडित समक्ष पुगेको छ’, उनले भने ।
खाद्यन्नको व्यवस्था जिल्ला विपद् व्यवस्थापन समितिले गरिरहेको र शीतलहरका लागि पठाएको बाँकी रहेकोे करम समेत खर्च भईरहेको गृहले जनाएको छ ।
हुरीले घर भत्काउँदा फेटा गाउँपालिकाका अधिकांशको खाद्यन्न तथा लत्ताकपडा पुरिएको छ । अहिले उनीहरूलाई लत्ताकपडासँगै खाद्यन्न पनि आवश्यक छ । स्थानीय तहले समेत विभिन्न राहत तथा उद्धारकर्ताहरुसँग सहकार्य गरेर खानाको व्यवस्था गरिरहेको छ ।
गृहमन्त्रालयका अनुसार आइतबार राति आएको विनाशाकरी हावाहुरीबाट बारामा ९ सय ३७ घर पूर्ण क्षती भएको छ । ९ सय ५५ घर आंशिक क्षति भएको छ । त्यस्तै पर्सामा १ सय २२ घर पूर्ण क्षती र ३८७ घर आंशिक क्षति भएको छ । हावाहुरीबाट बारामा २७ र पर्सामा १ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १२:४८ बजे

















