गृहपृष्ठ हामीले तत्कालिन राजा महेन्द्र जति पनि काम गर्न सकेनौं : कृषिमन्त्री
हामीले तत्कालिन राजा महेन्द्र जति पनि काम गर्न सकेनौं : कृषिमन्त्री
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले उत्पादनशील क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । ‘आर्थिक समृद्धिका लागि ग्रामिण उद्यमशिलता’ नाम संस्थाको आयोजानमा बुटवलमा आयोजित अन्तरक्रियामा कृषि क्षेत्रको विकासबिना अन्य विकास असम्भव भएको बताउँदै मन्त्री खनालले कृषिमा पनि उत्पादनशील क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका हुन ।
सम्बन्धित सरकारी निकाय निष्क्रिय भइदिँदा कृषिमा उल्लेख्य प्रगति हुन नसकेको बताए । ‘५५ वर्षअघि राजा महेन्द्रले कृषिमा देशैभरी राम्रो गर्न खाजेका रहेछन्, चीन, रुसतिरबाट बुझेर पनि होला तर हामीले केही गर्न सकेका रहेनछौं’ मन्त्री खनालले भने ‘ब्युराक्रेसी र अति न्यून बजेटका कारण कृषिमा प्रगति हुन सकेन ।’
६५ प्रतिशत जनसंख्यालाई २.९ प्रतिशत बजेट छुट्टयाएर कृषिमा प्रगति हुन नसक्ने बताए । विदेशमा ५ प्रतिशत जनसंख्या कृषिमा संलग्न भए पनि ११ प्रतिशतसम्म बजेट छुट्याइने गरेको उदाहरण उनले प्रस्तुत गरे ।
उनले झण्डै डेढ खर्बको खाद्यान्न आयात गरेर मुलुक समृद्ध हुन नसक्ने बताए । ‘एक सय ४० अर्बको खाद्यान्न आयात गरेर मुलुक कसरी समृद्ध बन्न सक्छ ?’ मन्त्री खनालले प्रश्न गरे ।
कृषिमा आश्रित जनसंख्या ६५ प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने, कृषिमा बजेट बढाउनुपर्ने र आधुनिकीकरण गर्नुपर्नेमा मन्त्री खनालले जोड दिए । जमिनको खण्डीकरण बढ्नु र जग्गाको वर्गीकरण गर्न नसक्दा कृषियोग्य जमिन घट्दै गएको मन्त्रीले औंल्याए ।
कृषिका लागि नेपाल ज्यादै उर्बर भूमि भए पनि उचित व्यवस्थापन हुन नसकेको उनले बताए । दक्षिण कोरियाको शैलीमा विदेश जाने जनशक्तिको आम्दानीलाई सरकारले नै उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने मात्रै कृषिमा फड्को मार्न सकिने उनले बताए ।
प्रकाशित समय १७:०४ बजे

















