गृहपृष्ठ नेपालको पानी विदेश निर्यात गर्ने तयारीमा जुट्यो खानेपानी मन्त्रालय

नेपालको पानी विदेश निर्यात गर्ने तयारीमा जुट्यो खानेपानी मन्त्रालय

विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्षम छौं : खानेपानी मन्त्री

water-export-newskarobar

हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले शुक्रबार बृहत अन्तर्क्रिया गरेको छ । नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्वबजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेसियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो ।

कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले सन् २०३० सम्ममा सबै नेपालीलाई शतप्रतिशत प्रशोधनसहितको खानेपानीको पहुँच पु-याउने र खेर गइरहेको पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्ने योजना बनिरहेको बताइन् । मन्त्री मगरले विश्वबजारमा नेपालको ग्लेसियर र स्प्रिङ वाटरलाई निर्यात गर्ने सम्भावनाको खोजी भइरहेको स्पष्ट पारिन् ।

‘हाम्रो प्राथमिकता सबै नेपाली जनतालाई आधारभूत खानेपानीको पहुँच पु-याउने हो र सँगसँगै हिमालबाट बगेर खेर गइरहेको पानीलाई समेत प्रशोधन गरी विदेश निर्यात गर्ने हो । हामी सबै किसिमका सम्भावनाहरुको खोजी गरिरहेका छौं । हाम्रो देशको पानी विश्व बजारमा अरु देशको भन्दा राम्रो र स्वच्छ छ । हामी विश्व बजारमा पुरै प्रतिस्पर्धा गर्न सक्छौं,’ उनले भनिन् ।

नेपालको पानी विदेश निर्यात गर्ने विषयमा मापदण्ड बनाएर अघि बढ्ने तयारीमा लागेको मन्त्री मगरको भनाइ छ । गुणस्तरमा कुनै सम्झौता नगरी अन्तर्राष्ट्रिय बजारमा पानी बिक्री गर्ने विषयमा सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी गराइन् ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान सफल बनाउन नेपालले पानी निर्यात गरी सम्पन्न बन्न सक्ने धारणा राखे । सचिव शर्माले पानी निर्यात गरी नेपाल धनी हुन सक्ने कुरामा कुनै सन्देह नरहेको बताए । ‘पानी निर्यातका लागि अन्तर्राष्ट्रिय बजार कहाँ कहाँ हुन सक्छ, हामी खोजी गर्छौं । हामीले उत्पादन गर्ने पानीको गुणस्तर पुरै सुधार्ने छौं,’ सचिव शर्माले भने ।

मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको ग्लेसियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा प्रस्तुति दिएका थिए । भट्टले नेपालको पानी खाडी देशहरुमा बढी माग भएको बताउँदै व्यापार घाटा कम गर्न पानी निर्यात उपयुक्त हुने विचार राखे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विदेश निर्यात गरिने पानीको स्रोतको सम्भावनाको खोजी भइरहेको बताए । अबको दुई हप्ताभित्र सम्भाव्यता अध्ययनका लागि सूचना जारी गर्न लागिएको महानिर्देशक दासको भनाइ छ ।

पूर्वसचिव सुमनप्रसाद शर्माले पानी निर्यात गर्ने अवधारणा राम्रो रहेको बताउँदै यसका लागि संयन्त्र र विधि पहिले नै तयार गर्नुपर्ने सुझाव दिए । उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले नेपालको पानीमा लगानी गर्न विदेशी कम्पनीलाई आह्वान गर्नुअघि सरकारले मुहान र जग्गा जमिन उपलब्ध गराउनुपर्ने बताए ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले ग्लेसियर र स्प्रिङ वाटरको प्रचुर सम्भावना रहेको बताउँदै नेपालले पानी निर्यात गरी फाइदा लिन सक्नुपर्ने विचार राखे । यस्तै, विष्णु दाहालले पानी बिक्री गरेरमात्रै नेपालको समृद्धि हासिल हुने ठोकुवा गरे । उनले हामीसँग भएको स्रोतको उचित प्रयोग गरी पानी निर्यात गर्न ढिलाइ गर्न नहुने बताए ।

यो पनि पढ्नुहोस् ।

पानी बेचेर डलर कमाउने मन्त्री बिना मगरको योजनामा कतारको साथ

प्रकाशित समय ०६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु