गृहपृष्ठ वैशाख ७ : अंग्रेज सेनाको पराजयमा रमाउँदै जितगढी
वैशाख ७ : अंग्रेज सेनाको पराजयमा रमाउँदै जितगढी
प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री बुटवल आउँदै, जितगढी सम्पदा स्थल झकिझकाउ
तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुसियालीलाई बुटवल उपमहानगरपालिकाले जितगढी विजय उत्सव मनाउँदै छ । सम्पदा स्थल किल्ला परिसरमा वैशाख ७ गते शनिबार विजयोत्सव दिवसको विशेष कार्यक्रम हुनेछ ।
दुई सय चार वर्षअघि वि. सं. १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको थियो । सोही ऐतिहासिक दिनलाई विजयोत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि भव्य रुपमा मनाउन सुरु गरेको छ । उपमहानगरपालिकाको गत वर्षको कार्यपालिका बैठकले विजयोत्सव दिवस मनाउने निर्णय गरेको हो ।
यसपटक दोस्रो विजयोत्सवको दिन जितगढी किल्लापरिसरमा निर्माण गरिएको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
कर्णेल उजिरसिंहको शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस महामन्त्री शशांक कोइराला, कांग्रेस सचेतक बालकृष्ण खाणलगायतका शीर्ष नेता बुटवल आउनेछन् । विजयोत्सवलाई भव्य बनाउन जितगढीमा विशेष तयारी गरिएको छ ।
जितगढी सम्पदा स्थलमा स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा र युवासमेत सक्रिय भएर लागेका छन् । दिवसका अवसरमा तत्कालीन युद्धको प्रहसन गर्ने तयारीसमेत भइरहेको छ । त्यसका लागि विशेष मञ्च, प्रहसन स्थल निर्माण, स्वागतद्वार निर्माण, सरसफाइलगायतका काम भइरहेका छन् । सम्पदा स्थलको सुरक्षा र दिवस तयारीमा नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्राविधिक एवं सुरक्षाकर्मी खटिएका छन् ।
बुटवल उपमहानगरपालिकाले ऐतिहासिक दिनको उत्सवलाई ऐतिहासिक बनाई जितगढीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार गर्ने कार्यको सुरुवात गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए । यसपटकको उत्सवपश्चात गुरुयोजना बनाएर जितगढीको संरक्षण, प्रवर्धन र विकासमा जुट्ने शर्माले बताए ।
वैशाख ७ गते बिहान ८ बजे नै उपमहानगरपालिकाबाट विजय –याली निकाल्ने र बिहान १० बजे नै किल्ला परिसरमा पुग्नेगरी समय तालिका तय भएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । प्रधानमन्त्री ओली शनिबार बुटवल आउने भएपछि बुटवल बजारको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ । भत्किएका सडक टालटुल पार्नेदेखि लिएर धुलो मार्नेसम्मका काम भइरहेका छन् ।
प्रकाशित समय ०७:४२ बजे

















