गृहपृष्ठ प्रदेश ५ मन्त्रिपरिषद् बैठकको निर्णय : राहतदेखि बिदासम्म

प्रदेश ५ मन्त्रिपरिषद् बैठकको निर्णय : राहतदेखि बिदासम्म

Province-5-Chief-Minister-Office

प्रदेश ५ को सरकारले दैविक विपत्तिका घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । विपत्तिमा मृत्यु भएकाका परिवारलाई १/१ लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । २०७४ फागुन ३ गतेदेखि २०७५ पुस मसान्तसम्म प्रदेशका ११ जिल्लामा ५१ जनाको बाढी पहिरो, आगलागी, चट्याङमा परी मृत्यु भएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले १÷१ लाख रुपैयाँका दरले ५१ लाख रूपैयाँ दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले आगलागीमा परेर, खोलाले बगाएर, चट्याङ लागेर, पहिरोमा पुरिएर दाङमा १ जना बर्दियामा ५ जना, बाँकेमा ८ जना, गुल्मीमा ४ जना, पश्चिम नवलपरासीमा ११ जना, पाल्पामा ८ जना, प्यूठानमा ५ जना, रोल्पामा ७ जना र रुकुम पूर्वमा २ जनाको मृत्यु भएको जानकारि दिए । प्रदेश सरकार स्थापना भएपछि भएका विपत्तिका घटनामा पीडित परिवारलाई राहत रकम दिन लागिएको हो ।

प्रदेश सरकारले दाङमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने निर्णय पनि गरेको छ । दाङको राप्ती गाउँपालिका–७ बसन्तपुरमा सबै खेलहरू खेल्न मिल्ने अन्तर्राष्ट्रिय रंगशाला बनाउने निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गरेको चौधरीले जानकारी दिए । रंगशाला १ सय ७२ विगाहा १९ कठ्ठा, एक धुर जग्गामा बन्नेछ ।

सामाजिक विकास मन्त्रालयको प्रस्तावमा राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय रंगशाला बनाउने र दाङकै घोराही उपमहानगरपालिका–१६ मा रहेको नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका–१३ स्थित जवही खेल मैदानलाई उजिरसिंह रंगशालाको रूपमा स्तरोन्नति गरिने छ । ३ वटै रंगशाला बनाउन स्थानीय तहले प्रदेश सरकारलाई जग्गा उपलब्ध गराइसकेका छन् । ३ वटै रंगशालाको (विस्तृत आयोजना प्रतिवेदन) डीपीआर बनाएपछि प्रदेश सरकारले बजेट उपलब्ध गराउने छ ।

प्रदेश सरकारले यस वर्षदेखि ६ वटा आफ्नै बिदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते, बकर इदमा, माघे संक्रान्तिमा २ दिन बिदा दिइने छ । स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहबाट १ दिन र स्थानीय समुदायमा आधारितजस्तै थारु समुदायको अवतारी पर्व, मगर समुदायको भूमिया पूजा, मुस्लिम समुदायको रामजामजस्ता पर्व, जितगढी विजयी उत्सव, भगवती जात्रा स्थानीय तहले विदा दिन सक्नेछन् ।

लुम्बिनी भ्रमण वर्षको कार्यक्रममा संशोधन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा १५ सदस्यीय मुल समितिलाई हेरफेर गरी २० सदस्यीय बनाउने भएको छ । समितिमा एकतिहाइ महिला पर्ने गरी विविध क्षेत्रमा ५ जनालाई थप गरी २० सदस्यीय समिति बनाउने चौधरीले बताए ।

प्रकाशित समय १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु