गृहपृष्ठ अपाङ्गता भएका व्यक्तिहरुको सारथी ‘डोलबहादुर’

अपाङ्गता भएका व्यक्तिहरुको सारथी ‘डोलबहादुर’

केही बर्ष पहिला रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नम्बर–११ देवीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको नेपाल अपाङ्ग आश्रम थियो । पछि घर भाडा समेत तिर्न नसक्ने भएपछि रङ्गशाला नजिकै रहेको सार्वजनिक जग्गामा त्रिपाल टाँसेर अपाङ्गता भएका व्याक्तिहरु बसे।कतिपयले सार्वजनिक जग्गामा त्रिपाल टाँसेर बसेको भन्दै टहरा भत्काइ दिए । ती अपाङ्गता भएका व्याक्तिहरुको सारथी थिए, डोलबहादुर रामदाम । अहिले विभिन्न दाताहरुको सहयोगबाट चल्दै आएको आश्रममा ओत लाग्ने छानो निर्माण गरिएको छ । शौचालय निर्माणदेखि मन्दिरसम्म दाताहरुकै सहयोगबाट निर्माण गरिएको छ । सो आश्रममा अहिले २२ जना विभिन्न अपाङ्गता भएका व्याक्तिहरु बस्छन् ।

जसमा १२ जना महिला र १० जना पुरुष रहेका छन् । ‘अपाङ्ग भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक थियो त्यसैले संस्था स्थापना गरेर अगाडी बढेका हौं । अहिले दाताहरुको सहयोगमा ओत लागाउन मिल्ने बनाउन सफल भएका छौं,’ आश्रमका अध्यक्ष डोलबहादुर रामदामले भने । ‘सुरुवातको समयमा नगरपालिकाले समेत जग्गा दिन मानेको थिएन, पछि विभिन्न संघ संस्थाबाट सहयोग आउन थालेपछि नगरपालिका सहमत भएको हो’ रामदाम भन्छन् । आश्रम बनाउनको लागि विभिन्न संघ संस्थाहरुबाट तीन लाख रुपैयाँ सकंलन भएको थियो । सोही रकमबाट आश्रम बनाइएको हो ।

अहिले सो आश्रममा बार्षिक पूण्य तिथि, जन्मदिन, संघसंस्था र क्लवहरुले आफ्नो बर्षिक स्थापना दिवसमा सहयोग गर्ने गरेका छन् । त्यस्तै, दसैंै तिहारको बेलामा आश्रम सञ्चालन गर्नको लागि सहयोग रकम जुटाउनको लागि घर दैलोमा जाने र तिहारको बेला देउसी भैलो खेल्ने गरिएको छ । त्यही रकमबाट आश्रम चल्ने गरेको छ ।

तनहुँबाट रुपन्देही आएका अध्यक्ष रामदामको समेत दुर्घटानमा परेर दुबै हात गुमाएका छन् । हात नभएपनि काम गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् । सो आश्रममा रहेका व्यक्तिहरुलाई काम सिकाएर आत्मनिर्भर बनाउने उनको योजना छ । अपाङ्गता भएका बालबालिकाहरुले सिकेको सिपलाई व्यवहारमा उतार्ने गरि उद्योग नै स्थापना गर्ने योजना रहेको उनको भनाइ छ ।

आश्रममा बसेर रुकुममा एक जना विद्यार्थीले १२ कक्षा पास गरेका छन् भने ४ जना बालबालिकहरु अहिले पनि विद्यालय जाने गर्छन् । नेपाल अपाङ्ग आश्रम २०६७ सालमा स्थापना भएको थियो ।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु