गृहपृष्ठ ९ जनाको मृत्यु भएपछि चिकित्सककोे टोली ताजाकोट पुग्यो
९ जनाको मृत्यु भएपछि चिकित्सककोे टोली ताजाकोट पुग्यो
हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ९ जनाको मृत्यु भएपछि चिकित्सकको टोली पुगेको छ । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर चिकित्सक टोली प्रभावित क्षेत्रमा पुगेको हो ।
प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आइतबार बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । धेरैको संख्यामा बिरामी परेकाले हेलिकोप्टरबाट टोली उपचारको लागि गएको हो ।
अज्ञात रोगका कारण एकजनाको चैत २६ गते र अन्य आठको वैशाख पहिलो सातादेखि अहिलेसम्म मृत्यु भएको मैला स्वास्थ्यचौकीका अहेब मोतिलाल जैसीले जानकारी दिए । शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो ।
यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको स्वास्थ्यचौकी प्रमुख जैसीले जानकारी दिए ।
प्रकाशित समय ११:११ बजे

















