गृहपृष्ठ प्रेस काउन्सिलले भन्यो- एभिन्युजका अन्तर्वार्ताकार ‘अशिष्ट’
प्रेस काउन्सिलले भन्यो- एभिन्युजका अन्तर्वार्ताकार ‘अशिष्ट’
एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण माग
प्रेस काउन्सिल नेपालले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका विषयमा एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेको छ । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनलाई लिएर प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको हो ।
उपप्रधानमन्त्रीसँग यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको प्रेस काउन्सिलको ठहर छ । प्रेस काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको जानकारी दिए ।
यसैबीच, समाजवादी पार्टी नेपालले उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । समाजवादी पार्टीले अन्तर्वार्ताका क्रममा भएको दुःखद घटनालाई लिएर कुनै पनि अवाञ्छित गतिविधि नगरी संयमित रहन कार्यकर्तालाई निर्देशन दिएको हो । पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवको मानमर्दन एवं अपमानित हुने गरी पत्रकार आचारसंहिताविपरीत सोधिएका प्रश्न र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
प्रकाशित समय ०८:०९ बजे

















