गृहपृष्ठ ब्युँतिन थाले द्वन्द्वकालीन मुद्दा, २५ वर्षअघिका मुद्दामा पक्राउ पुर्जी
ब्युँतिन थाले द्वन्द्वकालीन मुद्दा, २५ वर्षअघिका मुद्दामा पक्राउ पुर्जी
दस वर्षे माओवादी द्वन्द्व समाधान भएको १२ वर्षपछि द्वन्द्वकालीन मुद्दा व्युँतिन थालेका छन् । १७ वर्षअघि सहिद भएका रितबहादुर खड्काका नाममा समेत प्रहरीले गाउँमा पक्राउ पुर्जी पुर्याएको छ । २५ वर्षअघिका मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गर्न थालेको छ ।
तत्कालीन युद्धरत पार्टी शान्तिपूर्ण राजनीतिमा आएर पनि एमालेसँग एकीकरण भइसकेको छ । तर, युद्धकालमै मारिएका तत्कालीन माओवादी नेता (सहिद)का नाममा जिल्ला अदालत दोलखाले पक्राउ पुर्जी जारी गर्न थालेको छ ।
प्रहरी केही दिनअघि सत्तारुढ नेकपाकै नेताहरु (तत्कालीन माओवादी नेता)हरुको घरघरमा तामेल गर्न पुगेका छन् । नेकपाका केन्द्रीय सदस्यहरु गंगा कार्की विश्व, शंकर लामा र सहिद रीतबहादुर खड्काको नाममा अदालतले पुर्जी काटेको छ ।
खरखजना चोरी मुद्दामा उनीहरुलाई अदालतले पक्राउका लागि आदेश गरेको हो । यो मुद्दा २०५२ साल माघ २ गतेको हो । दोलखा चरिकोट बजारमा सडक निर्माणमा प्रयोगका लागि राखिएको ४२ हजार ७ सय डिटोनेटर, तीन क्विन्टल फ्युज र ३ बाकस जिलेटिन त्यतिबेला तत्कालीन माओवादीले कब्जामा लिएका थिए ।
पार्टीले जनयुद्धको तयारीका लागि उक्त डिटोनेटर, जिलेटिनलगायत सामग्री कब्जा गर्ने नीति बनाएपछि तत्कालीन माओवादी नेता कार्यकर्ताले उक्त सामग्री कब्जा गरेका थिए । त्यसको एक महिनापछि माओवादीले फागुन १ बाट दीर्घकालीन जनयुद्धको घोषणा गरेको थियो ।
सुरुमा जिलेटिनलगायतका सामग्री माछा मार्ने मानिसले लगेको हुनसक्ने अनुमानमा रहेको प्रहरीले जनयुद्ध सुरुवात भएपछि भने माओवादीले लगेको भन्दै नेता कार्यकर्ताको खोजी तीव्र पारेको थियो ।
०५३ जेठमा उक्त विस्फोटक पदार्थ लुटेको अभियोग लगाउँदै दोलखाका माओवादी नेताहरु पूर्णबहादुर खड्का र हेमबहादुर श्रेष्ठ पक्राउ परे । उनीहरुसहित तत्कालीन युद्धमै मारिएका रितबहादुर खड्का, गंगा कार्की विश्व र शंकर लामालाई पनि प्रहरीले मुद्दा चलाएको थियो । त्यसपछि जिल्ला अदालत दोलखाले उक्त मुद्दामा १० वर्षको जेल सजाए सुनायो ।
खड्का र श्रेष्ठले १० वर्ष कैद भुक्तान गरे । रितबहादुर युद्धमै २०५९ असार २ गते रौतहटको पिपरामा मारिएका थिए । तर, २५ वर्षअघिको फैसला कार्यान्वयनका लागि रितबहादुरसहित गंगा र शंकरको नाममा फेरि वारेन्ट पुर्जी जारी भएको हो ।
जिल्ला अदालत दोलखाका श्रेष्तेदार सुमन कुसुहवाले देशव्यापी अभियानअन्तर्गत दोलखामा पनि अदालतबाट फैसला भएका पुराना मुद्दा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको बताए । ‘पुराना फैसला कार्यान्वयनमा ल्याउन प्रहरीलाई लेखी पठाउने क्रममा यो मुद्दा पनि परेको हुन सक्छ,’ उनले भने । युद्धमै मारिएकोबारे अदालतलाई आधिकारिक जानकारी नभएकाले रितबहादुरको नाममा पनि पुर्जी गएको हुन सक्ने बताए । ‘आधिकारिक जानकारी आउन साथ अदालतले उनको नाममा लगत कट्टा गर्नेछ,’ उनले भने ।
सरकार अहिले नेकपाकै छ । सरकारको गृहमन्त्रीमा त्यसबेला युद्धका नेतृत्वकर्तामध्येका एक रामबहादुर थापा बादल छन् । तर, पार्टी नीतिमा भएको उक्त विस्फोटक पदार्थ कब्जाको मुद्दामा नेकपाकै केन्द्रीय नेताहरु गंगा र शंकरलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
प्रहरीले गंगा र शंकरको नाममा रहेको सम्पत्ति रोक्का गर्दै उनीहरुका गाउँमा वारेन्ट पुर्जी टाँस गरेको छ । चार दिनअघि मात्रै वैशाख ३० गते नेता गंगा कार्कीको दोलखा गौरीशंकर गाउँपालिका-१, जुँगुमा रहेको घरमा प्रहरी पुगेका थिए ।
पक्राउ पुर्जी टाँसको मुचुल्का गर्न प्रहरीले वडा कार्यालयमा पुगेर जनप्रतिनिधिलाई बुझाउन खोजे । तर, उक्त दिन कार्यालय बन्द रहेकाले स्थानीय भेला गरेर मुचुल्का उठाउन खोजे । स्थानीयले द्वन्द्वकालीन मुद्दा भएकाले दस्तखत गर्न नमानेपछि प्रहरी फर्केका थिए । वडाध्यक्ष झलककुमार कार्कीलाई भने जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर कार्यालयको छाप बोकेर चरिकोट आउन भनिएको उनले बताए ।
दुवै नेताले यो मुद्दाका विषयमा कुनै निर्णयमा पुगिने आश्वासन दिए पनि प्रहरीले भने खोजी सूचीमा राखेको छ । त्यसैगरी, २० वर्षअघि घटेको घटनालाई लिएर नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता शंकर लामाविरुद्ध दोलखा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । गत माघ २ गते जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गरेको हो ।
नेकपाका प्रदेश कमिटी सदस्यसमेत रहेका लामाविरुद्ध द्वन्द्वकालमा दोलखाको फस्कुका भरत भनिने चक्रबहादुर बुढाथाकीको हत्या गरेको अभियोग छ । २०५५ साल माघ १ गते राति साविक फस्कु गाविस वडा नम्बर ३ निवासी बुढाथोकीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा नेकपाका नेता लामालाई मात्रै अभियोग लगाउँदै मुद्दा दर्ता भएको हो ।
घटना घटेको २० वर्ष पुग्नुभन्दा एक दिनअघि बुधबार दोलखा जिल्ला अदालतमा लामाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । भरत बुढाथोकीको हत्यापछि २०५५ साल माघ २ गते उनका भाइ एवं तत्कालीन नेकपा एमालेका नेता गुणबहादुर बुढाथोकी र मृतक भरतकी श्रीमती लीला बुढाथोकीले नेता लामाविरुद्ध किटानी जाहेरी दिएका थिए । हत्या हुँदा अपरिचित तीनसहित चारजना भएको जाहेरीमा उल्लेख भए पनि किटानी भने लामालाई मात्रै गरिएको थियो । अधिवक्ता सुब्बा श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत यस्ता मुद्दा किनारा नलागे अब पूर्वमाओवादीका धेरै नेता यस्ता मुद्दामार्फत पक्राउ पर्ने सम्भावना रहेको बताए ।
प्रकाशित समय १०:३९ बजे

















