गृहपृष्ठ ‘नागरिक संगठनलाई सरकारले साथी बनाउनुपर्छ’

‘नागरिक संगठनलाई सरकारले साथी बनाउनुपर्छ’

insek-newskarobar

सरकारले नागरिक संगठनलाई साथी बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशको आयोजना तथा यूएस एआईडीको सहयोगमा शुक्रबार आयोजित नागरिक संगठन (संघ, संस्था) का संवैधानिक अधिकार विषयक संवाद कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका सुरेशकुमार खड्काले नागरिक संगठनलाई सरकारले साथी बनाएर अगाडि बढ्नुपर्ने बताए । ‘कतिपय स्थानहरु जहाँ सरकार पुगेको छैन, त्यहाँ नागरिक संगठन पुगेका छन्,’ उनले भने, ‘सरकारले नागरिक संगठनसँगै मिलेर काम गर्न सक्यो भने अधिकार नपाएका वर्गले पनि अधिकार पाएको अनभूति गर्नेछन् ।’

कार्यक्रममा अधिकारकर्मी पवित्रा शाहिले राज्य विधिसम्मत नहुने बेलासम्म नागरिक समाजको आवश्यकता पर्ने बताइन् । संघसंस्थाले कानुन र नीति नियममा भएको व्यवस्थाबारे नागरिकलाई सचेत बनाउने काम गर्ने उनको भनाइ छ ।

कार्यक्रमका सहभागीले नागरिक संगठनलाई लाग्ने गरेको आरोप ‘डलरको खेती’भन्दा पनि वास्तवमै पहुँच नपुगेको आवाज नागरिक संगठन भएको बताए । सांसद करवीर शाही, कुर्मराज शाहीलगायतले संघसंस्थाहरुले लिटो मात्रै बाँड्ने काम नगरी भौतिक पूर्वाधारमा समेत ध्यान दिनुपर्ने बताए ।

त्यस्तै, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले नागरिक संगठनहरुले संविधानले कोरेको बाटोमा हिँड्नुपर्ने बताए । ‘संघसंस्थाहरुले एकद्वार प्रणाली अपनाउनुपर्छ,’ उनले भने, ‘संघसंस्थाका लागि एउटा मात्रै कानुन निर्माण गर्दा पर्याप्त हुन्छ ।’ कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक संगठनका प्रतिनिधि एवं कर्णाली प्रदेशसभा सदस्यको उपस्थिति थियो ।

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु