गृहपृष्ठ समृद्ध नेपाल सुखी नेपालीका लागि बौद्ध दर्शन महत्वपूर्ण : गृहमन्त्री
समृद्ध नेपाल सुखी नेपालीका लागि बौद्ध दर्शन महत्वपूर्ण : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने बताएका छन् । श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीका अवसरमा आज बौद्ध स्तुपमा आयोजना गरेको कार्यक्रममा उहाँले दुःख र अशान्तिकै कारण बौद्ध दर्शनको जन्म भएको बताए ।
‘मानिसले आफूलाई केन्द्रविन्दुमा राखेर सोच्दा दुःख र अशान्ति हुने गरेको छ, सबैले हामी भन्ने भावनाबाट अघि बढ्न सके शान्ति स्थापना हुन्छ, अहिंसा, सदाचार, समानता र शान्तिबाट दुःख अन्त्य गर्न सकिन्छ’–मन्त्री थापाले भने ।
विश्वमा वार्षिक खर्बौ डलर हतियार उत्पादनका लागि खर्च हुने गरेकाले पनि शान्तिको आवश्यकता विश्वव्यापी भएको उनकाे भनाइ थियो । यसैकारण पनि पश्चिमा देशमा बौद्ध दर्शनका अनुयायी बढ्दै गएको मन्त्री थापाले सुनाए । धार्मिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उहाँले जानकारी गराए ।
लुम्बिनी, पशुपतिनाथ र जनकपुर क्षेत्रमा बढी पर्यटक आउने गरेकाले यी क्षेत्रको पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री थापाको भनाइ थियो । कार्यक्रममा गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले पाँचौँ शताब्दीमा निर्मित बौद्ध स्तुपको धार्मिक महत्व विश्वका बौद्ध धर्मावलम्बीकै लागि भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रुपमा विकास गरिनुपर्ने बताए ।
ओशो तपोवनका संस्थापक अध्यक्ष स्वामी आनन्द अरुणले लुम्बिनीमा भौतिक पूर्वाधारको निर्माण गरे वार्षिक ३० लाख पर्यटक भित्र्याउन सकिनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए । लुम्बिनीमा दुई घण्टाका लागि मात्र आउने पर्यटकलाई एक रात मात्र राख्न सके समृद्ध नेपालको आधार तयार हुने उनकाे भनाइ थियो ।
वैशाख शुक्ल पूर्णिमालाई विश्व ध्यान दिवसका रुपमा मनाउने पहल नेपाल सरकारका तर्फबाट हुनुपर्ने माग उनकाे थियो । विश्व हिन्दू महासङ्घकी महासचिव अस्मिता भण्डारीले देशका दूरदराजमा रहेका गुम्बा चर्चमा परिणत हुन थालेकोतर्फ सरोकार भएका निकायको ध्यान बेलैमा जानुपर्ने बताइन ।
सो अवसरमा पूर्व सांसद योगेन्द्र घिसिङ, गुठी संस्थानका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवाली, ताइवानी बौद्ध अनुयायी उइसो, गुरुआमा खाङ्डोमा, गुठीका प्रबन्धक नवीनबज्र लामालगायतले शाक्यमुनि बुद्धले विश्व शान्तिका लागि पुर्याउनुभएको योगदानका बारेमा चर्चा गरे । सो अवसरमा चिनियाँ लामा भूपतिबज्र लामाले डा सुनितासिंह लामाले लेखेकाे पुस्तक ‘अनाथको बेदना’ विमोचन गरे । कार्यक्रमपछि बौद्ध परिसरबाट पीपलबोट–बौद्ध–चावहिल हुँदै फेरि बौद्धसम्म शान्ति र्याली प्रदर्शन गरिएको थियो । रासस
प्रकाशित समय १६:२६ बजे

















