गृहपृष्ठ भक्तपुरमा पर्यटकको बसाइ लम्ब्याउने चुनौती
भक्तपुरमा पर्यटकको बसाइ लम्ब्याउने चुनौती
काठमाडौँबाट ३२ किलोमिटर दूरीमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट आकर्षक गन्तव्य भए पनि पर्यटनको माध्यमबाट अपेक्षित लाभ लिन सकेको छैन । राजधानीको निस्सासिँदो वातावरणबाट रमणीय क्षेत्रमा पुगेर आनन्द लिने इच्छा कसलाई पो नहोला । त्यसको लागि उपयुक्त गन्तव्य नगरकोट नै हो । रमणीय वातावरण, डाडाँकाडा र त्यहाँबाट देखि हिमशृङ्खलाका मनोरम दृश्यले जोकोही आगन्तुकलाई सहजै आकर्षण गर्छ ।
समुद्री सतहदेखि करीब दुई हजार १७५ मिटर उचाइको नगरकोट सूर्योदय तथा सूर्यास्त र सगरमाथादेखि अन्य चर्चित हिमालको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य पनि नगरकोट हो । यहाँबाट सगरमाथा, अन्नपूर्ण, मकालु, गणेश, लाङटाङ, जुगल, रोलवालिङलगायतका क्षेत्रको हिमालको रमणीय दृश्य देख्न सकिन्छ । अन्तर निकायबीच समन्वयको अभाव, पूर्वाधार विस्तार तथा बजार व्यवस्थापनसँगै पर्यटकको बसाइँ लम्ब्याउने वातावरण बनाउन नसकेका कारण नगरकोटको पर्यटनले पर्याप्त विकास हुन नसकेको सरोकारवालाको भनाइ छ ।
राष्ट्रिय सञ्चार केन्द्रले हालै नगरकोटमा आयोजना गरेको ‘भक्तपुरको पर्यटन विकासका सम्झावना र अवसर’ विषयक अन्तरक्रियाका वत्ताले नगरकोट क्षेत्रको समग्र पर्यटन विकासका लागि एकीकृत योजनाका साथ प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने धारणा राखेका थिए । भक्तपुरका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा नगरकोट पर्छ । विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र तथा चाँगुनारायणमा पर्यटकको घुइँचो लाग्ने गर्छ । तर त्यहाँ पुगेका पर्यटकलाई त्यस क्षेत्रका अन्य ठाउँमा पुर्याएर बसाइ अवधि लम्ब्याउने कुनै योजना छैन ।
त्यसैले ती गन्तव्यमा पुग्ने पर्यटक एक/दुई घण्टा समय बिताएर एक बोतल पानी, चिया र कफीकै भरमा फर्कने गरेको बताइन्छ । भक्तपुरका हरेक गन्तव्यमा एक/एक दिन बस्ने वातावरण बनाउनसके पर्यटनबाट आम्दानीका साथै प्रशस्त रोजगारी सिर्जना हुने निश्चित छ । भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले भक्तपुर आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन नसक्नु प्रमुख चुनौती भएको बताउछन् ।
‘भक्तपुर आउने पर्यटकले चिया र कफीबाहेक अन्य खर्च गर्दैनन् एक/दुई घण्टा घुमेर जान्छन्, उनीहरुको बसाइ लम्ब्याएर खर्च गराउने वातावरण बनाउन सबैको ध्यान जान जरुरी छ’, उनले भने। उनले भक्तपुर र आसपास क्षेत्रको पर्यटन विकासका लागि केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वयका साथ योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र पनि भक्तपुर आएर दुई घण्टा बिताउने पर्यटक केहीले पानी र कतिपयले कफी मात्र पिएर फर्कने गरेको भन्दै पर्यटकको कम्तीमा एक दिन बसाइ लम्ब्याएर आर्थिक लाभ लिने अभियान सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे । उनका अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७५/७६ मा करीब ३२ हजार पर्यटक नगरकोट घुम्न पुगे ।
एक विदेशी पर्यटकबाट रु एक हजार ५०० शुल्क लिने गरिएको छ । भक्तपुर नगरपालिकाले पर्यटनबाट वार्षिक करीब रु ३० करोड राजश्व उठाउने गरेको छ । भक्तपुर आउने एकतिहाई पर्यटक नगरकोट पुग्ने गरेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रचुर सम्भावनाका बीच ओझेलमा परेको भक्तपुरको पर्यटन विकासका लागि वहुआयामिक क्षेत्रलाई समेटेर गुरुयोजनासाथ प्रवर्द्धनको काम अघि बढाइनुपर्नेमा जोड दिए ।
चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष सन्तबहादुर तामाङले नगरकोटको पर्यटन प्रवर्द्धनका लागि विशेष प्राधमिकता दिएको, सुन्दर, स्वच्छ र व्यवस्थित शहर बनाउनका लागि बसपार्क, घरटहरा व्यवस्थापन आदि काम अघि बढाइएको जानकारी दिए । होटल व्यवसायी गोकुल लामिछानेले पूर्वाधार अभाव सडक यातायातको दुरवस्थाले पर्यटकको सङ्ख्यामा कमी आएको बताउछन् । होटल मेरिगोल्डका प्रबन्ध निर्देशक लामिछानेले विगत छ वर्षदेखि नगरकोट जाने बाटो लथालिङ्ग अवस्थामा रहेको, खानेपानी, ढल निकासजस्ता समस्या चुनौतीपूर्ण बनेको उल्लेख गरे ।
नगरकोट क्षेत्रमा साना–ठूला गरी करीब ५० होटल सञ्चालनमा छन् । आन्तरिक पर्यटकले धानेको नगरकोटमा विदेशीको आकर्षण पनि बढ्दो छ । वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक पुग्ने गरेका छन् । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जितराम लामाले भक्तपुरको पर्यटनलाई विश्व बजारमा पुर्याउन सूर्यविनायकमा खुला चिडियाखाना, नगरकोटमा ‘भ्यूटावर’जस्ता पूर्वाधारका कामलाई सरोकारवाला निकायले तत्काल अघि बढाउनुपर्नेमा जोड दिए । भक्तपुरलाई नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यहाँका सबै नगरपालिकाले गुरुयोजनका साथ अघि बढ्नुपर्ने उनकाे सुझाव छ । रासस
प्रकाशित समय १६:५३ बजे

















