गृहपृष्ठ कार्यालय प्रमुखकै कार्यकक्षमा तालिम
कार्यालय प्रमुखकै कार्यकक्षमा तालिम
‘काम त अहिले पनि गरिरहेकै छौं तर के गर्ने, निकै अप्ठ्यारो परिस्थितिबाट । नगरौँ भने नहुने र गरौं भने आवश्यक पूर्वाधार एवं स्रोत साधनको अभावै अभाव छ,’ कार्यालय प्रमुख कृष्णप्रसाद पंगेनीले भने ।
पंगेनी कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत पशु सेवा तालिम केन्द्र सुर्खेतमा कार्यालय प्रमुखका रूपमा कार्यरत छन् । अभावका बीचबाट काम गर्नुपर्दा सेवाग्रहीलाई भने जस्तो सेवा दिन नसकिएको उनले बताए । १२ कर्मचारी दरबन्दी भएको यस तालिम केन्द्रमा अहिले दुईजनाले काम गर्नुपर्ने बाध्यता छ । ‘न आफ्नै तालिम केन्द्रको भवन छ न त दरबन्दीअनुसार कर्मचारी,’ उनले दुखेसो पोखे ।
भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञको अति पुरानो भवनलाई मर्मत गरी आफ्नै कार्यकक्षमा प्रदेशस्तरीय तालिम सञ्चालन गरिएको प्रमुख पंगेनीले बताए । उनले थपे, ‘एक उपसचिवसहित चार अधिकृत, तीन प्राविधिक सहायक कर्मचारी मात्रै छौं । प्रदेशस्तरीय तालिम केन्द्रको कार्यालयमा मन्त्रालयको पुराना कुर्ची, सोफासेट ल्याएर काम चलाएको छु । सवारी साधन पनि नहुँदा आवातजावात गर्न त्यत्तिकै अप्ठ्यारो भएको छ ।’
काम गर्ने अनुकूल वातावरण नभए पनि आफ्नो दायित्व पूरा गरेको उनको भनाइ थियो । उहाँका अनुसार आफ्नै कार्यकक्षमा भए पनि कर्मचारी र व्यावसायिक किसान गरेर १ सय २४ जनालाई तालिम प्रदान गरिएको छ । असार पहिलो सातासम्म शतप्रतिशत प्रगति देखाउने उनको दाबी थियो । ज्ञान, सीप र प्रविधि प्रवाह गर्ने तालिम केन्द्रको यो हालतले भने काम गर्न कठिन भएको उनको गुनासो थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्मचारीले गाह्रो परिस्थितिसँग जुधेर पनि काम गरेको भन्दै धन्यवाद ज्ञापन गरे । प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउँदै गरेको जनाउँदै उनले तालिम केन्द्रको भौतिक आवश्यकता, आगामी चालु आवमा सञ्चालन गर्ने विशेष योजना र कार्यक्रम तयार पारेर जतिसक्दो छिटो दिन उनले कर्मचारीलाई निर्देशनात्मक सुझाव दिइएको बताए । (रासस)
प्रकाशित समय ११:५४ बजे

















