गृहपृष्ठ बलेनिका ७५ घरलाई लिफ्टमार्फत खानेपानी

बलेनिका ७५ घरलाई लिफ्टमार्फत खानेपानी

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत खानेपानी वितरण गरिएको छ । सुनकोसी नदीको पानी लिफ्टबाट तानेर बलेनीका बासिन्दालाई खानेपानी वितरण गरिएको हो ।

गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा छुट्याएको २५ लाख रुपैयाँको लागतमा लिफ्ट निर्माण गरिएको हो । थ्री एचपी को मोटरबाट तानिएको पानी १ लाख ८ हजार घनमिटरको ट्यांकीमा जम्मा गरेर अहिले खानेपानी वितरण गरिएको छ । एक घर एक धारा सरकारको लक्ष्यअनुरुप त्यस क्षेत्रमा खानेपानी वितरण गरिएको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए । २०७२ सालको भूकम्पले खानेपानीको मुहान सुक्दा खानेपानीको हाहाकार भएको स्थानीय गोपाल मंग्र्रातीले बताए ।

गाउँमा खानेपानीको स्रोत नभएपछि वर्षाको समयमा आकासेपानी तथा हिउँदमा दुई घण्टा लगाएर पानी लिन जानुपर्ने बाध्यता थियो । लिफ्ट बनेपछि खानेपानीको समस्या हटेको स्थानीय अप्सरा बसेलले बताए । सुनकोसीको पानी पाँच सय मिटर माथि लिफ्टबाट तानेर त्यस क्षेत्रका स्थानीयलाई खानेपानी वितरण गरिएको लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए । (रासस)

प्रकाशित समय १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु