गृहपृष्ठ यार्सागुम्बा संकलन गर्न जानेको लर्को, प्रमाणपत्र अनिवार्य

यार्सागुम्बा संकलन गर्न जानेको लर्को, प्रमाणपत्र अनिवार्य

जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन सुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्कबापत मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि ५ सय, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि २ हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि ३ हजार रुपैयाँ दस्तुर तोकेको छ । त्यसबाहेक मध्यवर्ती क्षेत्रले सेवा शुल्कका रुपमा छुट्टै ५ सय रुपैयाँ लिन पाउने व्यवस्था गरिएको छ । निकुञ्जले छोडपुर्जी दस्तुरबापत ३० हजार रुपैयाँ तोकेकोे छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्म एक महिनाको अवधि रहने निकुञ्जले जनाएको छ ।

निकुञ्जले जेठ १३ गतेदेखि औपचारिक रुपमा जिल्लाका सम्पूर्ण यार्सापाटन खुलाउने निर्णय गरेको छ । राष्ट्रिय निकुञ्जभित्रका १५ नाकाबाट प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकृत छत्र खड्काले जानकारी दिए । निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुमलगायतका १४ स्थानबाट सङ्कलन पुर्जी वितरण भइरहेको छ ।

यार्सा सङ्कलनका लागि छिमेकी जिल्ला रुकुम, जुम्लालगायत अन्य जिल्लाबाट सर्वसाधारण आएको उनले बताए । यो मौसममा यार्सागुम्बा सङ्कलन गरेर वर्षभरि आफ्ना आधारभूत आवश्यकता पूरा गर्ने उनीहरुको भनाइ थियो । ‘दैनिक आवश्यकता पूरा गर्नका लागि आफू यार्सागुम्बा सङ्कलन गर्न आएकी हुँ,’ रुकुम आठबिसकोट नगरपालिका–११ की हीरा शाहीले बताइन् ।

अघिल्ला वर्षहरुमा भन्दा यो वर्षमा राष्ट्रिय निकुञ्जले चोरी निकासी गर्नेप्रति कडाइ गरेको छ । पाटन प्रवेश गर्न यार्सा सङ्कलनकर्ताले आफ्नो साथमा स्थायी ठेगाना खुल्ने नागरिकता वा परिचयपत्र लिएर आउनुपर्छ । पाटनमा दैनिक खानका लागि खाद्यान्नलगायत सामग्री आपूर्तिका लागि प्रयोग भएका घोडा खच्चरको १५० रुपैयाँ प्रवेश शुल्क लिइएको छ । (रासस)

प्रकाशित समय १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु