गृहपृष्ठ यात्रुवाहक बस रोकेर लुटपाट गर्ने सातजना पक्राउ

यात्रुवाहक बस रोकेर लुटपाट गर्ने सातजना पक्राउ

pakrau-arrest-newskarobar

बाराको पथलैया–निजगढ सडकखण्डबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बसमा लुटपाट गर्ने गिरोहलाई बारा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान यात्रुबाहक बस रोकेर लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न रौतहटको गुजरामाई नगरपालिका-२ का ज्ञानबहादुर थिङ, सर्लाहीको हरिवन नगरपालिका–१० का दिलकुमार दोङ, वडा नम्बर ८ का विजय लामा, सिन्धुलीको हरिहरपुर गाउँपालिका–७ का टाइगर भनिने सुनिल तामाङ, महोत्तरीको बगडा नगरपालिका–५ घर भई बर्दिबास नगरपालिका–२१ बस्ने रमेशकुमार यादव र काभ्रेको महाभारत गाउँपालिका–२ का विशाल पाख्रिनलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । लुटपाटमा संलग्न सिन्धुलीको मरिन गाउँपालिका–५ घर भई निजगढ नगरपालिका–११ बस्दै आएका संघर्ष थिङलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको थियो ।

उनीहरुले पथलैया–निजगढ सडकखण्डअन्तर्गत गढीमाई जाने बाटोनजिकै काठमाडौँ जाँदै गरेको ना. ७ ख २७९० नम्बरको यात्रुबाहक बस रोकेर बसका सहयोगी सञ्जयकुमार उपाध्यायसँग रहेको ४५ हजार नगद र एक थान मोबाइल लुटेका थिए । आफूलाई सिआईबी टोली भन्दै लुटेराले यात्रुबाहक बस रोकेर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो पनि पढ्नुहोस्

जलेश्वरबाट काठमाडौं जाँदै गरेको यात्रु बसमा लुटपाट

 

प्रकाशित समय १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु