गृहपृष्ठ चार जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार

चार जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार

पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् ।नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्यांकी नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो ।

झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुडीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो । पानीट्यांकीस्थित भारतीय भन्सार कार्यालयले अनलाइन प्रणालीमा गडबडी भएको भन्दै तेलका ट्यांकर हप्तौँसम्म रोक्न थालेको छ ।

इन्धन जस्तो संवेदनशील वस्तुको हाहाकार भएपछि सर्वसाधारणमा परेको समस्यालाई तत्काल हटाउन नेपाल आयल निगमको चारआली शाखा कार्यालयले विराटनगरस्थित निगमको प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ ल्याउन निगमका बिक्रेता एवं व्यवसायीलाई आग्रह गरेको छ ।

शाखाका प्रमुख सनम कार्कीले बुधबार विज्ञप्ति नै जारी गरेर नियमित आपूर्ति चाँडै गराउन निगम प्रयत्नशील रहेको जानकारी गराउँदै ताप्लेजुङ, पाँचथर, इलाम र झापास्थित निगमका बिक्रेतालाई आवश्यक पेट्रोलियम पदार्थ निगमको प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरबाट उपलब्ध गराइने उल्लेख गरेका छन् ।

पेट्रोलियम व्यवसायीलाई नले चाहिएजति इन्धनको मूल्य भुक्तानीको बैंक भौचर शाखा कार्यालयमा बुझाएपछि मागबमोजिमको पेट्रोलियम पदार्थ उपलब्ध गराइने उल्लेख गरेका छन् । साविक मेची अञ्चलका चार जिल्लामा दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको छ । भारतबाट तेल नआएपछि यी जिल्लाका पेट्रोल पम्प स्वतः बन्द भएका छन् ।

मेची पेट्रोलियम व्यवसायी एसोसिएसनका अध्यक्ष मार्स प्रसाईंले प्रादेशिक कार्यालय विराटनगरबाट पेट्रोलियम पदार्थ लिन सकिने जानकारीसहितको पत्र बुधबार पठाएको र त्यो प्रक्रियाबाट इन्धन ढुवानी गर्दा महँगो पर्ने बताए ।

अध्यक्ष प्रसाईंले विराटनगरबाट लकिङ गरेका ट्यांकर नआउने हुँदा क्वालिटी र क्वान्टिटी दुवैमा ग्यारेन्टी नहुने दाबी गरे । निगमले पेट्रोलियम व्यवसायीलाई १५ किलोमिटरसम्म एक हजार लिटरको ३१६ रुपैयाँ भाडाको मापदण्ड बनाएको बताउँदै उनले विराटनगरबाट ल्याउँदा १ हजार ९९ रुपैयाँ लाग्ने बताए । उनले निगम आफैँले नै प्रादेशिक कार्यालयबाट लकसहितका ट्यांकर ल्याएर चारआली डिपोमार्फत व्यवसायीलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । (रासस)

प्रकाशित समय १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु