गृहपृष्ठ चुरेको दोहनले खानेपानीको मूल सुक्दै
चुरेको दोहनले खानेपानीको मूल सुक्दै
चुरेको दोहनले खानेपानीको मूल सुक्दै
चुरे क्षेत्रको अत्यधिक दोहनले पश्चिम नवलपरासीको सुनवलमा खानेपानीको समस्या देखिन थालेको छ । चुरेमा उत्खनन तथा अत्यधिक दोहनले जिल्लाको सुनवल क्षेत्रमा रहेका भूमिगत पानीका स्रोतहरु धमाधम सुक्न थालेपछि खानेपानीको अभाव देखिन थालेको हो ।
चुरेको दोहनले खानेपानीको मूल सुक्न थालेका छन् । मूल नै सुक्न थालेपछि त्यस क्षेत्रका स्थानीय चिन्तित बनेका छन् । चुरेको जथाभावी दोहनलाई नियन्त्रण गर्न नसक्दा खानेपानीको अभाव सिर्जना हुन थालेको सुनवल–१२ का डोलराज भण्डारीले बताउँछन् ।
‘चुरेको अत्यधिक दोहनले पानीको मूल सुक्दै गएको छ, अब पिउने पानी पनि आयात गर्नुपर्ने हो की भन्ने चिन्ता लागेको छ,’ उनले भने । भूमिगत पानीको स्रोत नै सुक्ने गरी दोहन गर्न नपाउने मापदण्ड बनाएर मात्र चुरे क्षेत्रको उत्खनन गर्न दिनुपर्ने उनको धारणा छ ।
चुरे क्षेत्रमा नदीजन्य पदार्थको ठेक्का लगाउने तर अनुगमन प्रभावकारी नहुँदा जथाभावी दोहन भइरहेको स्थानीयवासी बताउँछन् । पानीको मुहान सुक्न थालेपछि विभिन्न स्थानमा सञ्चालित खानेपानी आयोजनाबाट वितरण हुने पानीको मात्रा पनि कम हुन थालेको छ भने नयाँ आयोजनाका लागि बोरिङको प्रयास असफल हुन थालेका छन् ।
सुनवल– १३ को दुर्गा टोलमा ओभरहेड ट्यांकी निर्माण गरी पानी वितरण गर्ने योजना रहे पनि भूमिगत पानी नआएपछि योजना नै असफल भएको स्थानीय खुमान्द न्यौपानेको भनाइ छ । उनले भने, ‘वर्षातको समयमा धारामा हिलो पानी आउने, हिउँदमा एउटा भाँडा भर्न पनि लामो समय लाग्ने समस्या हामीले भोगिरहेका छौँ, नगरपालिकाले यसमा विशेष ध्यान दिन आवश्यक छ ।’
एकातिर पानीको मुहान सुक्दै जानु र अर्काेतिर धारामा आउने पानी सिधैँ पिउन मिल्ने गरी शुद्ध नहुनु जस्ता समस्याले सुनवलवासी खानेपानीको समस्या भोग्न बाध्य छन् । सुनवल नगरपालिकामा १० वटा खानेपानी आयोजना रहेकामा तीनवटा मात्र सञ्चालनमा छन् । अन्य योजना निर्माणाधीन अवस्थामै रहेको सुनवल नगरपालिकाले जनाएको छ ।
चुरेको दोहन रोक्न र शुद्ध पिउने पानीको व्यवस्थापन गर्न नगरपालिकाले उचित ध्यान दिनुपर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सदस्य एवं प्रदेश नं–५ का संयोजक थानप्रसाद गैरे बताउँछन् । विकास भनेको सडक मात्र नभएकाले स्थानीय सरकारले खानेपानीलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ जोड दिन्छन् ।
सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल चुरेको संरक्षणमा नगरपालिका क्रियाशील रहेको बताउँछन् । चुरे क्षेत्रमा वृक्षरोपण गर्ने गरी नगरपालिकाले स्वयंसेवक खटाएको उनले जानकारी दिए ।
चुरे क्षेत्रमा काम गर्ने निकायले स्थानीय सरकारसँग समन्वय पनि नगर्ने र चुरे क्षेत्रमा काम गर्ने अधिकार स्थानीय तहलाई पनि नभएको उनी बताउँछन् । यस विषयमा प्रदेश र संघीय सरकारसँग कुरा भइरहेको भन्दै उपप्रमुख अर्यालले पानीको स्रोत सुक्न नदिन नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको जानकारी दिए ।
‘नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन हामीले खानेपानी आयोजनाहरुलाई बजेट विनियोजन गरी पूर्वाधार निर्माणमा सहयोग गर्दै आएका छौँ,’ उपप्रमुख अर्याल भन्छन्, ‘अब पनि खानेपानीको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्छाैं । खानेपानीको शुद्धता नाप्न आवश्यक मेसिन उपकरण पनि खरिद गरी आयोजनाहरुलाई हस्तान्तरण गर्छाैं ।’
केही वर्षदेखि चुरे क्षेत्रको अव्यवस्थित ढंगबाट हुने गरेको दोहनले पानीका मुहानहरु सुक्न सुरु गरेसँगै स्थानीयवासीको जीवनशैलीमै समस्या थपिएको छ । समयमै यसतर्फ स्थानीय सरकार र सरोकारवाला निकायले चुरे संरक्षणतर्फ स्थानीयस्तरबाटै पहल नगर्ने र केन्द्रको मात्र मुख ताक्ने हो भने आगामी दिनमा यो समस्या अझ विकराल बन्नेतर्फ सोच्न जरुरी भएको स्थानीयवासी बताउँछन् । (रासस)
प्रकाशित समय १३:१३ बजे

















