गृहपृष्ठ पाकिस्तानको शान्तिवार्ता प्रस्तावमा भारत किन मौन ?
पाकिस्तानको शान्तिवार्ता प्रस्तावमा भारत किन मौन ?
पाकिस्तानी प्रधानमन्त्रीले दोस्रो पटक भारतीय सरकारसँग वार्ता गर्ने प्रयास गरेका छन् । कास्मिर आक्रमणपछि सुरु भएको युद्ध रोकेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दोस्रो पटक वार्ताका लागि पत्र लेखेका हुन् । तर, भारतले यसपटक पनि मौनता साँधिरहेको छ ।
नरेन्द्र मोदी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएपछि सफल कार्यकालको बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री खानले वार्ताबाट दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार्न वार्तामा आउन शुक्रबार पत्र पठाएका हुन् । उनले पत्रमा लेखेका छन्, ‘दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्न आवश्यक छ ।’
तर, भारत सरकार पाकिस्तानसँग सम्बन्ध सुधार्ने पक्षमा छैन । प्रधानमन्त्री खानको पत्रको कुनै जवाफ भारतले पठाएको छैन । यसअघि पनि पाकिस्तानले वार्ताका लागि गरेका प्रयासमा भारतले हिलो छ्याप्दै आएको छ ।
कास्मिरको पुलवामा आतंकवादी हमला भएपछि पाकिस्तान र भारतबीच तनाव बढेको थियो । पाकिस्तानको बालाकोटमा २६ फेब्रुअरीमा भारतले हवाई हमला गरेपछि दुवै देशबीच युद्ध सुरु हुने स्थिति आएको थियो ।
यद्यपि, एक भारतीय लडाकु विमानलाई पाकिस्तानले जमिनमा खसालेर त्यसका पाइलटलाई समेत नियन्त्रणमा लिएपछि भारत पछि हटेको थियो । त्यसपछि पाकिस्तानले ती पाइलटलाई स–सम्मान भारतलाई सुम्पिएको थियो ।
भारत किन चाहँदैन शान्ति ?
दक्षिण एसियाली क्षेत्रको शान्ति स्थापनामा समेत दरार पैदा हुने गरी पाकिस्तान र भारत सधैं युद्धको मनस्थितिमा रहने गरेका छन् । तर, पाकिस्तानी प्रधानमन्त्री खानले युद्ध रोक्दै दुई देशबीचको सम्बन्ध सुधार्न एक्लो प्रयास जारी राखिरहँदा भारतले ‘साँढे’ चरित्र देखाउनुलाई राजनीतिक विश्लेषकहरुले गलत भएको विश्लेषण गरेका छन् । भारतले अमेरिकासँगको सम्बन्धको टेकोमा सीमा जोडिएको छिमेकी मुलुक पाकिस्तानसँग सम्बन्ध सुधार्न नचाहिरहेको उनीहरु बताउँछन् ।
पाकिस्तान–चीन सुमधुर सम्बन्धका कारण अमेरिका र भारतबीच पाकिस्तानविरोधी स्वार्थ मौलाएको अधिकांशको अनुमान छ । यसै पनि दक्षिण एसियामा चीनको उपस्थिति कमजोर बनाउने र आफ्नो वर्चश्व कायमै राख्ने भारतीय चरित्रका कारण पाकिस्तानसँग सम्बन्ध बिग्रिँदा सार्कको भविष्य अन्योलमा परिसकेको छ । पाकिस्तानले दक्षिण एसियामा शान्ति स्थापनाका लागि गरेको पहललाई निरन्तर बेवास्ता गरिरहने हो भने यो क्षेत्रमा निम्तिन सक्ने असहज अवस्थाको भागिदार आफू पनि बन्नुपर्छ भन्ने भारतले कम्तीमा भुल्न नहुने विश्लेषकहरु बताउँछन् ।
प्रकाशित समय १२:४४ बजे

















