गृहपृष्ठ सगरमाथाको उचाइ नाप्ने कार्कीलाई सम्मान
सगरमाथाको उचाइ नाप्ने कार्कीलाई सम्मान
नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयअन्तर्गतको नापी विभागले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाइ मापन सफलतापूर्वक सहभागी भई फर्केका मापन टोलीका एक सदस्य रविन कार्कीलाई गृहजिल्लामा सम्मान गरिएको छ ।
नापी विभागले पठाएको चारजनाको टोलीमध्ये कार्की सगरमाथाको चुचुरोमै पुग्ने दुईमध्येका एक हुन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापनमा सफलतापूर्वक रूपमा जिम्मेवारी पूरा गरेकामा कार्कीलाई गृहजिल्ला बागलुङमा सम्मान गरिएको हो । सगरमाथा उचाइ मापनमा सफलतापूर्वक सहभागी भई सिंगो बागलुङलाई गौरवान्वित तुल्याएको भन्दै जिल्लामा क्रियाशील सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
आफ्नो सहकारीको सेयर सदस्य भएर विश्वको अग्लो सगरमाथा आरोहणसँगै उचाइ मापनमा सहभागी भई नेपालीको शिर उच्च राख्न सफल भएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । कार्की बागलुङ नगरपालिका–८ सिगानामा जन्मेर नापी विभागको अधिकृत भई सगरमाथा मापनमा सफलतापूर्वक सहभागी भएका थिए । सगरमाथा आरोणका क्रममा जति दुःख भए पनि गृहजिल्लाको सम्मानले सबै दुःख सुखमा परिणत भएको सगरमाथा मापन सदस्य कार्कीले प्रतिक्रिया दिए ।
सगरमाथा मापनका लागि नापी विभागको समूह अन्तर्राष्ट्रिय गाइड छिरिङजङ्बु शेर्पासहित चैत २६ गते काठमाडौँबाट प्रस्थान गरी जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहणसँगै उचाइ मापनको तथ्यांक संकलन गरी ९ गते काठमाडौँ फर्किएका थियो । (रासस)
प्रकाशित समय ११:१६ बजे

















