गृहपृष्ठ प्रविधिमैत्री सेवामा जोड दिनुपर्छ : प्रहरी नायब महानिरीक्षक अधिकारी
प्रविधिमैत्री सेवामा जोड दिनुपर्छ : प्रहरी नायब महानिरीक्षक अधिकारी
प्रदेश नं ५ का प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले रामपुर नगरपालिका–३ स्थित प्रहरी चौकी केलादीको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गरे ।
नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणअन्तर्गत १ करोड ८ लाख ३५ हजार ९१६ रुपैयाँको लागतमा निर्मित उक्त दुईतले भवनमा भान्साघर, बाथरुम र शौचालयसहित प्रतीक्षालय, पार्किङस्थल र गार्डपोस्ट पनि निर्माण भएको छ ।
उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक अधिकारीले प्रहरीले अपराधीका बीच कानुनी रूपमा कठोर र समुदायका बीच न्यायप्रेमी मानिसका लागि सहयोगी मित्रको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै प्रविधिले फड्को मारिरहेको अवस्थामा प्रहरीले पनि आफ्ना सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याए ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले रामपुर नगरको बढ्दो सहरीकरणसँगै हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा शान्ति सुव्यवस्थाका लागि चौकीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले प्रभावकारी अपराध अनुसन्धान र नियन्त्रण गरी मानव अधिकारको रक्षाप्रति प्रतिबद्ध भएर प्रहरी नागरिक सेवामा केन्द्रित हुनुपर्ने बताए । (रासस)
प्रकाशित समय १२:११ बजे

















