गृहपृष्ठ कुस्मा बजारमा एक सातादेखि पानीको हाहाकार
कुस्मा बजारमा एक सातादेखि पानीको हाहाकार
पर्वत सदरमुकाम कुस्मा बजारमा विगत एक सातादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ सुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौंतारिन थालेका छन् ।
बजारवासी बिहान सबैरै पानीको खोजीमा बजार नजिकका इनार, खोल्सा र खोलामा जान बाध्य भएका छन् । कुस्मा नगरपालिका–५ बडागाउँको मेलमिलाप चोकमा बस्दै आएका शिक्षक दुर्गा भुसालले पानीको अभावले पोसाक धुन नपाउँदा विद्यालय जानै समस्या भएको बताए । अर्का स्थानीयवासी शालिग्राम पौडेलका अनुसार धारामा नियमित पानी नआउँदा खानेपानीको संकट परेको बताए । उनले दैनिकजसो जार र बोत्तलको पानी किनेर खानुपरेको गुनासो गरे ।
दिनको एकपटक पनि धारामा पानी नआउँदा सदरमुकामबाट झन्डै आधा घण्टा टाढा रहेको दोबिल्लाबाट गाडीमा पानी ओसार्नुपरेको होटल व्यवसायीको गुनासो छ । पानीको अभावमा होटल नै बन्द गर्नुपर्ने स्थिति आएको होटल सञ्चालक सुशीला कुँवरले बताए । बिहान र बेलुकी पानी जोहोमा लाग्नुपर्दा स्थानीयवासीले कुस्मा खानेपानी कार्यालयप्रति आक्रोश पोखेका छन् ।
कुस्मा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका उपाध्यक्ष रमाकान्त शर्माले अत्यधिक गर्मी हुँदा पानीका मुहान सुक्नु, पानीको मुख्य मुहान रहेको ठाउँ कुस्मा नगरपालिका–२ खुर्कोटमा धान रोपाइँ सुरु हुनु र बजारका कतिपय ठाउँमा पानीको लिकेज रहेका कारण पानी अभाव भएको जानकारी दिए ।
कुस्मा बजारमा एक दिनमा झन्डै २५ लाख लिटर पानीको खपत हुने गरेकामा अहिले १५ लाख लिटरजति मात्र आपूर्ति भइरहेको छ । आपूर्ति भएकोमध्ये पनि झन्डै ३० प्रतिशत पानी पाइप फुटेर बीचमै लिक हुने गरेको कार्यालयले जनाएको छ । (रासस)
प्रकाशित समय ११:३२ बजे

















