गृहपृष्ठ कम्पोस्ट मल र बायोग्यास प्लान्टको काम सुरु
कम्पोस्ट मल र बायोग्यास प्लान्टको काम सुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कम्पोस्ट मल र बायोग्यास प्लान्टको काम सुरु भएको छ । सरकारले दिने विशेष अनुदान ३ करोड ३२ लाख रुपैयाँको लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा–२ सोल्मामा कम्पोस्ट मल र बायोग्यास प्लान्टको काम सुरु गरिएको हो ।
विशेषगरी दिक्तेलबजार, सोल्मालगायतका ठाउँबाट निस्कने सड्ने र गल्ने वस्तुलाई प्रशोधन गरेर कम्पोस्टमल उत्पादन गर्ने तथा मानव मलमूत्रलाई प्रयोग गरेर बायोग्यास उत्पादन गर्दै अर्गानिक नगर बनाउने अभियानलाई सफल बनाउन कम्पोस्टमल र बायोग्यास प्लान्टको काम सुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘उत्पादित ग्यासलाई सिलिन्डरमा भरेर भान्छामा उपयोग गर्ने र बाँकी रहेको फोहरमैलालाई मलकै रूपमा प्रयोग गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘यसले नगरपालिकालाई स्वच्छ र सफा राख्न मद्दत गर्नुका साथै अर्गानिक नगर बनाउन टेवा पुग्नेछ ।’
कम्पोस्ट मल र बायोग्यास प्लान्ट निर्माण गर्न आवश्यक ट्रस्ट भवनको आइतबार नगरप्रमुख रिजाल र उपप्रमुख विणादेवी राईले औपचारिक रूपमा शिलान्यास गरे । नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराएको जग्गामा ट्रस्ट भवन शिलान्यास गरिएको हो ।
नगरपालिकालाई व्यवस्थित ढंगले अर्गानिक कृषि क्षेत्र बनाउने अभियानअन्तर्गत रासायनिक मलको अनुदानको विकल्पमा कम्पोस्ट प्लान्टको विकल्प सँगसँगै अघि बढाएको नगरप्रमुख रिजालले बताए ।
विशेष प्राथमिकताका साथ अघि सारिएको अर्गानिक नगर बनाउने अभियानअन्तर्गत यसअघि सम्बन्धित सरोकारवालाको बृहत सहभागितामा रासायनिक मल तथा विषादी प्रयोगले मान वस्वास्थ्यमा पार्ने असरलगायत विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । नेपाल कर्माकल्चर समूह (एनपीजी) बबरमहल काठमाडौँसँगको सहकार्यमा नगरलाई प्रांगारिक कृषि क्षेत्र बनाउने अभियान सुरु गरिएको हो । (रासस)
प्रकाशित समय ११:५३ बजे

















