गृहपृष्ठ भारतीय नम्बरका गाडीको प्रयोगले राजस्व चुहावट

भारतीय नम्बरका गाडीको प्रयोगले राजस्व चुहावट

Jeep-newskarobar

सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजस्व चुहावट भइरहेको छ ।

राजस्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार भारतीय नम्बरका मोटरसाइकलको १ सय रुपैयाँ तथा कार, जिपको दैनिक ४ सय राजस्व तिर्नुपर्छ । भारतीय नम्बर प्लेटका गाडी अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर एक वर्षमा ३० दिनसम्म मुलुकभित्र चलाउन सकिने कानुनी प्रावधान छ । सीमावर्ती बजारसम्म बिहान आएर बेलुकी फर्कनका लागि शुल्क तिर्न नपर्ने छुट दिइएको छ । भारतसँग सीमा जोडिएका ठाउँमा राजस्व नतिरी वर्षौंसम्म भारतीय नम्बरका गाडी प्रयोग हुने गरेका छन् ।

राजनीतिक दलका स्थानीय नेता, तस्कर तथा व्यापारीले यस्ता गाडीको बढी प्रयोग गर्ने गरेका छन् । वास्तविक मूल्यको करिब एक चौथाइ मूल्य मात्र पर्ने भएकाले भारतीय सीमासँग जोडिएका गाउँमा अधिकांशको रोजाइमा भारतीय नम्बर प्लेटका गाडी पर्ने गरेका छन् । पछिल्लो केही समययता जिल्ला ट्राफिक कार्यालय सिरहा लहान मातहतका ट्राफिक प्रहरी चेक पोस्टले भारतीय नम्बर प्लेटका गाडीलाई जाँचको कार्यलाई तीव्रता दिएका छन् । (रासस)

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु