गृहपृष्ठ पोखरा क्षेत्रका गुठी संरक्षक पनि आन्दोलनमा
पोखरा क्षेत्रका गुठी संरक्षक पनि आन्दोलनमा
गुठी विधेयकको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेका बेला पोखरा क्षेत्रका गुठी संरक्षकले पनि विधेयक फिर्ताको माग गरेका छन् । सोमबार पोखरा क्षेत्रका गुठी मठ–मन्दिर, गुम्वा विहार संघसंस्थाका प्रतिनिधिले विरोध प्रदर्शन गर्दै गुठी विधेयक फिर्ता लिन माग गरेका हुन् ।
पोखराको मानवअधिकार चोकदेखि सुरु भएको विरोध –यालीले न्युरोड, सभागृहचोक, सिर्जना चोक, सहिद चोक हुँदै जिल्ला प्रशासन कार्यलयमा पुगेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पोखरेलीको तर्फबाट विश्वशंकर पालिखेसहितको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र बुझाएको नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले जानकारी दिए । तत्काल विधेयक फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी उनले दिए । पराजुलीले गुठी विधेयक ल्याएर सरकारले नेपालको मठ, मन्दिर, धर्म, संस्कृति र हिन्दू धर्मलाई सिध्याउन लागेको आरोप लगाए ।
विधेयकमार्फत सरकारले धर्म, संस्कृति र परम्परामाथि गर्न खोजेको आक्रमणको निन्दा गर्दै विधेयक तुरुन्त फिर्ता लिन सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाइएको नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । पालिखेले गुठी विधेयक ऐन २०७६ खारेज गर्न माग गर्दै सरकारले विधेयक नियमन गर्न खोज्दा अधिकांश गुठीको मौलिकता हराउने खतरा बढेकोमा चिन्ता व्यक्त गरे ।
विरोध प्रदर्शनमा पोखरा क्षेत्रमा रहेका करिब ५० भन्दा बढी गुठी संरक्षक विभिन्न संघ संस्थाका पदाधिकारीको सहभागिता थियो ।
प्रकाशित समय ०६:४६ बजे

















