गृहपृष्ठ बिहे गर्ने उमेर नहुँदै गर्भपतन

बिहे गर्ने उमेर नहुँदै गर्भपतन

स्याङ्जामा बिहे गर्ने उमेरअगावै गर्भपतन गराउने किशोरीहरूको संख्या बढ्दै गएको छ । नेपालको कानुनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । यहाँ भने बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरूको संख्या यहाँ बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले बताइन् ।

महिनामा ४० देखि ६० जनासम्म गर्भपतनका लागि आउने गरेको उनले बताइन् । अनमी शर्माले भनिन्, ‘१३ देखि २० वर्षभित्रका अविवाहित किशोरीहरूसमेत गर्भपतन गराउन आउने गरेका छन् ।’ श्रीमान् वैदेशिक रोजगारीमा भएका महिलाहरू बढी आउने गरेको शर्माको भनाइ छ ।

जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डाक्टर अमृत पोख्रेलले जिल्लामा असुरक्षित रूपमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको बताए । १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी मान्यता रहे पनि लिंग पहिचान गरेर गर्भपतन गराउने क्रम बढेको बताउँदै बाहिर असुरक्षित ठाउँमा गर्भपतन गराउने अनि रक्त श्रावको समस्या भएपछि अन्तिम अवस्थामा आफूहरू कहाँ आउने गर्दा रगत कमीलगायत अन्य विभिन्न प्रकारका समस्या हुने गरेको उनको भनाइ छ ।

परिवार नियोजनको अस्थायी साधनको प्रयोगकर्ताभन्दा गर्भपतन गराउन आउनेको संख्या बढी भएको बताउँदै उनले विद्यालय र क्याम्पसहरूमा यससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक बताए । जिल्लामा गर्भपतन गराउने १९ संस्था सूचीकृत घएका छन् । चालु आर्थिक वर्षमा ८८४ जनाले गर्भपतन गराएका छन् ।

वालिङस्थित ग्रौघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ३२७ जनाले सेवा लिएको र जसमा ३६ जना २० वर्षभन्दा मुनिका रहेका छन् भने २९१ जना २० वर्षभन्दा माथिका रहेको केन्द्रले जनाएको छ ।ग्रौघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले अधिकांश किशोरीहरूले क्लिनिकमा पाइने गर्भ नरहने औषधिसमेत प्रयोग गर्ने गरेको जानकारी दिए । (रासस)

प्रकाशित समय १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु