गृहपृष्ठ इनरुवामा पनि डेंगुका बिरामी भेटिए

इनरुवामा पनि डेंगुका बिरामी भेटिए

dengu-newskarobar

सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएका छन् । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिइन् ।

धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ । इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

इनरुवाका १, ३, ६, ९ र १० वडामा डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । रोगबारे बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा संक्रमितको आशंका गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन ।

स्थानीयवासीले ज्वरोपश्चात् उपचारका लागि बिरामीलाई धरान र विराटनगर पु-याइएकाले संक्रमण भएका रोगीको सख्या अधिक हुन सक्ने आकलन गरे पनि जिल्ला अस्पताल इनरुवाले भने आधिकारिक रूपमा इनरुवामा एकजनामा मात्र डेंगु संक्रमण पाइएको जनाएको छ ।

नगरपालिकाले सचेतनासम्बन्धी विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालनको तयारी गर्दै वडा नं ३ र ९ मा स्वयंसेविका, आमा समूह, संघसंस्थाका पदाधिकारीलगायतको उपस्थितिमा सावधानी र सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीबाट खटिएका स्वास्थ्यकर्मीसहित सम्बन्धित क्षेत्रका जानकारले सचेतनासम्बन्धी प्रशिक्षण दिइरहेका अस्पतालले जनाएको छ । (रासस)

प्रकाशित समय ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु