गृहपृष्ठ विदेशबाट फर्किएर २० लाख लगानीमा श्रीअन्तुमा कटेज सञ्चालन
विदेशबाट फर्किएर २० लाख लगानीमा श्रीअन्तुमा कटेज सञ्चालन
श्रीअन्तुको फोटो फिचरसहित
वैदेशिक रोजगारीबाट फर्किएर दुई युवाले इलामको श्रीअन्तुमा २० लाख लगानीमा कटेज सञ्चालन गरेका छन् । कतार, साउदी, यूएईलगायतका देशमा १० वर्ष बसेर फर्किएका झापा सुरुंगाका डीपी आचार्य र दुई वर्ष कतार बसेर फर्किएका इलाम फिक्कलका मन्दीप रिमालले संयुक्त लगानीमा माँ पाथीभरा कटेज सञ्चालनमा ल्याएका हुन् ।
सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध श्रीअन्तुमा पर्यटकीय सम्भावना प्रवल रहेकाले कटेज स्थापना गरेको सञ्चालक रिमालले जानकारी दिए । ‘पूर्वको प्रसिद्ध पर्यटकीय स्थलको प्रवर्धनमा समेत सहयोग पुग्ने गरी कटेज स्थापना गरेका हौं,’ उनले भने, ‘श्रीअन्तुमा पर्यटन पूर्वाधार विकास हुँदै जाँदा पर्यटक आगमन पनि बढ्दै गएको छ ।’ स्थानीय सरकार गठनसँगै विभिन्न क्षेत्रमा लगानीको वातावरण बनेको रिमालले बताए ।
माँ पाथीभरा कटेजमा २० जना पर्यटक खानबस्न सक्ने गरी सुविधासम्पन्न कोठा बनाइएको अर्का सञ्चालक आचार्यले जानकारी दिए । विदेशमा आफूले सिकेको सीपको सदुपयोग पनि होस् र पर्यटन प्रवर्धनमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले श्रीअन्तुमा कटेज खोल्ने योजना बनेको उनको भनाइ छ । ‘श्रीअन्तुमा आन्तरिक पर्यटक बिदा मनाउन, गर्मी छल्न र घुमघाम गर्न आउने क्रम बढेको छ,’ उनले भने, ‘पर्यटन पूर्वाधार विकाससँगै प्रचारप्रसारमा केन्द्रित हुनसके श्रीअन्तु पूर्वको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ ।’
पाँच वर्षे गुरुयोजना बनाएर काम गरिरहेका छौं : नगरपालिका
सूर्योदय नगरपालिका वडा नम्बर ४ मा पर्ने श्रीअन्तुमा केही होमस्टे र कटेज छन् भने दुईवटा पर्यटकीय स्टरका होटल निर्माण भई सञ्चालनमा आएका छन् । श्रीअन्तुको पर्यटन प्रवर्धन र विकासका लागि नगरपालिकाले पाँच वर्षे गुरुयोजना बनाएरै अघि बढेको छ । श्रीअन्तु डाँडामा रहेको टावरको सुन्दरता बढाउनका लागि चालू आर्थिक वर्षमा मात्रै नगरपालिकाले १ करोड ९५ लाख रुपैयाँ खर्च गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए । त्यसबाहेक पोखरीको सुन्दरता र वरिपरिको क्षेत्रको संरक्षणका लागि करिब १ करोड पाँच लाख विनियोजन गरिएको थियो । ‘श्रीअन्तुको पर्यटकीय सम्भावनालाई मध्यनगर गर्दै पर्यटन पूर्वाधार विकास र संरक्षणमा जुटेका छौं,’ उनले भने, ‘अबको तीन वर्षमा श्रीअन्तुलाई पूर्वको मुख्य पर्यटकीय क्षेत्र बनाउँछौं ।’ केही वर्षभित्रै पर्यटक आगमनमा उच्च वृद्धि हुने नगर प्रमुख राईले बताए । अहिले पनि श्रीअन्तुमा सिजनमा दैनिक ३ हजारभन्दा बढी पर्यटक पुग्ने गर्छन् ।
श्रीअन्तुमा पर्यटक आगमन बढ्दै जाँदा निजी लगानी आकर्षित हुने क्रम पनि बढेको छ । तर, निजी क्षेत्रबाट कति लगानी भयो भन्ने तथ्यांक नगरपालिकासँग छैन । ‘निजी क्षेत्र आकर्षित भएको छ तर कति नै लगानी भएको छ भन्ने यकिन तथ्यांक हामीसँग छैन,’ न्युज कारोबारसँग नगर प्रमुख राईले भने ।
प्रकाशित समय १५:४९ बजे























