गृहपृष्ठ गैँडाकोटको हर्दीमा बिजुली

गैँडाकोटको हर्दीमा बिजुली

नवलपुरको गैँडाकोट नगरपालिका–३ हर्दीमा पहिलोपटक बिजुली बलेको छ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको हर्दीमा बिजुली बलेसँगै स्थानीयवासी खुसी भएका छन् ।

हर्दीका ६७ घरमा बिजुली पुगेको छ । यहाँ सुरुआतमा १९ घरमा मिटर बक्स जडान गरिएको छ । १५ दिनभित्र अन्य घरमा मिटर बक्स जडान गरिनेछ । धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आएका स्थानीयवासी सोम भुजेल बिजुली बाल्न पाएपछि दंग छन् । गैँडाकोट नगरपालिकासँगै जोडिएको भए पनि हर्दीका बासिन्दा बिजुलीबाट वञ्चित थिए । ‘जनप्रतिनिधि निर्वाचित भएपछि बिजुलीको पहल भएको हो,’ भुजेलले भने ।

नेपाल विद्युत् प्राधिकरणको करिब ३५ लाख रुपैयाँ तथा नगरपालिकाको विद्युतीय सामग्री ढुवानीलगायत सहयोगमा यहाँ बिजुली बलेको हो । ग्रामीण क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत हर्दीमा बिजुली बालिएको हो । गैँडाकोट–३ मा रु सात करोडको लागतमा खानेपानी योजनासमेत विस्तार गरिएको छ । कालीगण्डकीबाट लिफ्टको माध्यमबाट स्थानीयलाई सिँचाइको व्यवस्था गर्ने नगरपालिकाको योजना छ ।

नेपाल विद्युत् प्राधिकरण गैँडाकोट शाखाका प्रमुख सुजन रिजालले हर्दीमा विद्युतीकरणका लागि स्थानीयवासीले श्रमदान गरी सहयोग गरेको बताए । उनले विद्युत् नियमित गराउन प्राधिकरणका तर्फबाट अधिकतम प्रयास गरिने बताए । सिँचाइका लागि बोरिङको समेत व्यवस्था गरिएको छ । गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारी विद्युतीकरणसँगै गाउँमा विकासको ढोका खुलेको बताउँछन् । (रासस)

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु