गृहपृष्ठ नमोबुद्धमा घर क्षति भएको चार वर्षपछि ‘रेट्रोफिटिङ’ !

नमोबुद्धमा घर क्षति भएको चार वर्षपछि ‘रेट्रोफिटिङ’ !

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ (प्रबलीकरण) गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष चैत २९ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रेट्रोफिटिङ अभियानको औपचारिक सुरुआत गरेका थिए ।

भूकम्पले घर चर्किएको करिब चार वर्षपछि सुरु गरिएको रेट्रोफिटिङ अभियानअन्तर्गत निर्माण सम्पन्न भएको परिवारको दुईतले घर प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले घरधनीलाई हस्तान्तरण गरेका हुन् । बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआइडी) को आर्थिक सहयोगमा विल्ड चेन्ज र युएन ओप्स नामक गैरसरकारी संस्थाले उक्त रेट्रोफिटिङ नमुना घर निर्माण गरेका हुन् । डीएफआइडीले नेपालको भूकम्पप्रभावित जिल्लाका ५६२ स्थानीय तहमा एक वटा हुनेगरी करिब एक हजार आंशिक क्षति घरलाई रेट्रोफिटिङ गरी नमुना घर बनाउने सम्झौता गरेको छ ।

घर हस्तान्तरणका अवसरमा श्रेष्ठले कच्ची घरलाई रेट्रोफिटिङ गरेर भूकम्प प्रविधियुक्त मजबुत बनाइएको बताए । उनले भने, ‘थोरै रकममा घर रेट्रोफिटिङ गर्न सकिन्छ, यसबाट मौलिकता जोगाउन मद्दत पुग्दछ ।’ भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण गरिएका अधिकांश दुईकोठे घर ‘बाकस घर’ जस्ता देखिएकोमा चिन्ता व्यक्त गर्दै उहाँले रेट्रोफिटिङमा सूचीकृतलाई अब पूर्ण लाभग्राहीमा नलैजाने बताए । ‘आंशिकलाई पूर्ण लाभग्राहीमा लैजाँदा नकारात्मक सन्देश गयो, यसको नीतिगत रूपमै परिवर्तन गर्नु जरुरी छ,’ उनले भने ।

नेपालका इन्जिनियरलाई यससम्बन्धी अध्ययन गर्न समय लागेकाले सरकारद्वारा चर्किएका घर रेट्रोफिटिङ गर्न ढिला हुन गएको श्रेष्ठले बताए । “विभिन्न देशका विज्ञसँगको अध्ययन, अनुसन्धान र परीक्षणबाट पास भएका प्रविधिमार्फत हालै मात्र रेट्रोफिटिङ प्रयोगमा ल्याइएको हो,’ उनले भने । भूकम्पप्रभावित ३२ जिल्लामा करिब ६२ हजार आंशिक लाभग्राही रहेको र हाल ११४ घरको रेट्रोफिटिङ भइरहेको श्रेष्ठले जानकारी दिए ।

घरधनी परिवारले भूकम्पले चर्किएको आफ्नो घर उस्तै बलियो बनेकामा खुसी व्यक्त गरे । ‘भूकम्पले चर्केको घरमा बस्न डर मानिरहेका थियौँ, अहिले हामी खुशसी छौँ, हाम्रो घर जस्ताको तस्तै, बलियो बनाइदिनुभयो,’ उनले भने । उक्त घरमा सातजना परिवार बस्दै आएका थिए । छत्रबहादुर बसेको वडा नं ५ मा १२७ घर आंशिक लाभग्राहीमा सूचीकृत छन् ।

केही संस्थाले यसअघि अनौपचारिक रूपमा घरलाई रेट्रोफिटिङ गरेको भए पनि सरकारले प्राधिकरणमार्फत औपचारिकरूपमा रेट्रोफिटिङको काम काभ्रेपलाञ्चोबाट सरु गरेको हो । प्राधिकरणले नमुनाका रूपमा रेट्रोफिटिङ गरेको परिवारको घर प्राविधिकलाई थप अनुभव तथा स्थानीयवासीलाई यससम्बन्धी जानकारी भएको अपेक्षा गरिएको छ । कार्यकारी सदस्य श्रेष्ठले भने, ‘यस नमु रेट्रोफिटिङ घरबाट प्राविधिक तथा सर्वसाधारणले सिक्नेछन् र आंशिक लाभग्राही यसप्रति आकर्षित हुनेछन् भन्ने हाम्रो अपेक्षा हो ।’ उनले छत्रबहादुरको घर ज्ञानकेन्द्रका रूपमा स्थापित भएको उल्लेख गर्दै रेट्रोफिटिङप्रति लाभग्राहीलाई प्राधिकरण आफैँले चेतनशील बनाउनु आवश्यक रहेको बताए । आंशिक लाभग्राहीमा सूचीकृतलाई एक लाख रूपैयाँ दिने प्राधिकरणको नीति छ ।

विल्ड चेन्जका इन्जिनियर अनिल बस्नेतले ‘स्ट्रङ ब्याक फिटिङ’ विधिबाट प्रबलीकरणको काम भएको बताए । उहाँका अनुसार यस्तो विधिबाट काम गर्दा क्षति कम होस् भनेर सरुमा घरलाई बाहिरबाट बाँध्ने काम गरिन्छ, त्यसपछि जगमा डिपीसी गर्दै घरको भित्री भागबाट माथिसम्मै आवश्यकताअनुसार पक्की पिलर बनाइन्छ र निदाल तथा दलिनलाई फलामले कस्ने काम गरिन्छ ।

काभ्रेपलाञ्चोकमा रहेका ६८ हजार ७७३ भूकम्पपीडितमध्ये करिब छ हजार घर आंशिक लाभग्राहीमा सूचीकृत छन् । यिनीहरूलाई रेट्रोफिटिङ अर्थात् प्रबलीकरण गर्नुपर्ने प्राधिकरणको नीतिमा उल्लेख गरिएको छ । (राजकुमार पराजुली/रासस)

प्रकाशित समय १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु