गृहपृष्ठ कुष्ठरोग नियन्त्रणमा नयाँ अभियान : सम्पर्कमा रहनेलाई पनि औषधि
कुष्ठरोग नियन्त्रणमा नयाँ अभियान : सम्पर्कमा रहनेलाई पनि औषधि
कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ । देशका विभिन्न जिल्लामा नमुनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यस वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ ।
कुष्ठरोग नियन्त्रणका लागि सरकारले वर्षौँदेखि ठूलो रकम खर्चिँदै आए पनि सङ्क्रमितको दर निरन्तर उस्तै देखिएपछि नयाँ अभियान थालिएको अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था दामियन फाउन्डेसनका नेपाल प्रतिनिधि डा. सुशील कोइरालाले जानकारी दिए ।
‘पूर्वका तीन जिल्लाबाट पाइलट प्रोजेक्टका रूपमा सुरु भएको यो परियोजना यस वर्षदेखि बाँके र बर्दियामा पनि कार्यान्वयनमा आएको हो,’ क्षय र कुष्ठरोगका क्षेत्रमा क्रियाशीलसमेत दामियन फाउन्डेसनका प्रतिनिधि डा कोइरालाले भने, ‘यो नयाँ अभ्यासले कुष्ठरोग पूर्णतः नियन्त्रणमा आउने विश्वास लिइएको छ ।’
डा. कोइरालाका अनुसार, तराईका जिल्लामा कुष्ठरोगको समस्या निरन्तर देखापरेपछि सरकारले नयाँ ढंगले सोचेको हो । यसअनुसार संक्रमितसँग नियमित सम्पर्कमा आउने कम्तीमा ३० जनालाई औषधि खुवाइनेछ । यसमा परिवारका सबै सदस्य, विद्यार्थी भए साथी, शिक्षक र छिमेकी परिवारका सबै सदस्य हुनेछन् ।
‘सातामा २० घण्टाभन्दा बढी समय संक्रमितसँग बिताउने जो कसैलाई पनि यो औषधि अनिवार्य गरिएको छ,’ बाँकेमा स्वास्थ्य एकाइलाई प्राविधिक सहयोग गरिरहेको टिबी नेपालका क्लिनिक इन्चार्ज हिक्मत खड्काले भने, ‘त्यसका लागि संवेदनशील विधि अपनाइएको छ, यो विधि प्रभावकारी हुनेमा हामी पनि विश्वस्त छौँ ।’
बिरामीले नियमित औषधि खाएर ठीक भए पनि उसको सम्पर्कमा रहेको अर्को व्यक्तिमा संक्रमणको आशंकाले सरकारले रिफाम्पिसिन नामक औषधि खुवाउने भएको हो । ‘बर्दियामा सुरु भइसकेको छ,’ खड्काले भने, ‘बाँकेमा यसैसाताबाट यो अभियान सुरु हुँदै छ ।’ बाँकेमा ४ सयभन्दा बढी मूल बिरामीको सम्पर्कमा रहने थप ३० जनालाई औषधि खुवाइने छ ।
जिल्लास्थित स्वास्थ्यकर्मी र गाउँटोलका महिला स्वास्थ्य स्वयंसेविकामार्फत २०७३ साउनयता उपचारमा रहेका सबै बिरामी तथा उनको सम्पर्कमा रहेका कम्तीमा ३० जनालाई औषधि खुवाउने अभियान सुरु गर्न लागिएको हो । त्यस हिसाबले बाँकेमा मात्रै १२ हजारभन्दा बढीलाई यस वर्ष औषधि खुवाइनेछ ।
सोही अभियानअन्तर्गत कोहलपुर वडा नं १४ र १५ का स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई टिबी नेपाल र दामियन फाउन्डेसनले अभिमुखीकरण गरिसकेको छ । ‘अब स्वास्थ्यकर्मी र स्वयंसेविकाले घरघर पुगेर बिरामी र उनको सम्पर्कमा रहनेलाई औषधि खुवाउनुहुनेछ,’ खड्काले भने ।
घरदैलोमै गएर दिइने सेवाका कारण क्षय कुष्ठरोगका नयाँ बिरामी पनि पहिचान हुने विश्वास अभियानले लिएको छ । ‘औषधिले कुनै ‘साइड इफेक्ट’ पनि नपर्ने भएकाले गर्भवती महिलाबाहेक सबैले औषधि खान सक्नुहुनेछ,’ डा कोइरालाले भने, ‘यो अभियानले स्वास्थ्यकर्मीलाई जागरुक बनाउने काम पनि गर्नेछ ।’
बिरामीलाई गोप्य राखेर औषधि खुवाउने अभियान चलाइने स्वास्थ्यचौकी शमशेरगन्जले जनाएको छ । कोहलपुर १४ र १५ को केन्द्रका रूपमा रहेको शमशेरगन्जबाट २०७३ यता १६ ले कुष्ठरोगको उपचार गराइरहेका छन् । मुलुकभर प्रति १० हजारमा एक जनामा कुष्ठरोगको संक्रमण देखिए पनि तराईमा समस्या बढी रहेको सरकारी तथ्यांकले जनाएको छ ।
‘बर्सेनि तीन हजारको संख्या नघटेपछि अभियानको प्रभावकारिता खोजिएको हो,’ क्षय तथा कुष्ठरोगका क्षेत्रमा कार्यरत टिबी नेपालका क्लिनिक इन्चार्ज खड्काले भने । नेपाल सरकारले निजी क्षेत्रसँगको साझेदारीमा अभियान सञ्चालन गरेको हो । (काशीराम शर्मा/रासस)
प्रकाशित समय १५:०७ बजे
















