गृहपृष्ठ भीमेश्वर नगरपालिका क्षेत्रमाको पुनः नापी हुने

भीमेश्वर नगरपालिका क्षेत्रमाको पुनः नापी हुने

भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रको नाप नक्सा अद्यावधिक गर्ने भएको छ । द्वन्द्वको समयमा भएको क्षतिको नक्सा अद्यावधिक गर्नुपर्ने भएकाले संघीय सरकारसँग समन्वय गरी पुनः नापी गरिने आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा उक्त नगरपालिकाले सो जानकारी दिएको हो ।

‘विसं २०४९ मा नगर क्षेत्रको नापी भएको थियो । २०-२० वर्षपछि पुनः नापी गर्ने सरकारको नियम भए पनि हालसम्म नापी हुन नसकेकामा नगरपालिकाले जनपक्षीय निर्णय गरेकोमा हामी खुसी व्यक्त गर्दछौँ,’ नागरिक अगुवा चिरञ्जीवी मास्केले भने ।

नगरभित्रको सार्वजनिक र खुला क्षेत्र संरक्षण गर्न पनि नक्सा अद्यावधिक गर्नुपरेको बताउँदै नगरप्रमुख भरत केसीले भने, ‘नागरिकले आफ्नो सम्पत्ति सहजरुपमा रक्षा गर्न सकून् भन्ने उद्देश्यले नै यो योजना ल्याइएको हो ।’

सदरमुकाम चरिकोट र आसपासमा रहेका जग्गा खरिद बिक्री गर्दा धेरै समस्या भएको गुनासो आएकाले सोहीअनुसार नगरपालिकाले नागरिकको समस्या समाधान गर्न यो योजना अघि बढाएको उनले जानकारी दिए ।

लालपुर्जा र नक्सामा भएको जग्गाको क्षेत्रफल फिल्डमा नहुने समस्याबाट आजित नगरवासीका लागि यो समस्या दीर्घकालीन रुपमा समाधान हुने भीमेश्वर नपा–३ का प्रकाश बस्नेतको भनाइ थियो । छरछिमेकमा जग्गाको विषयलाई लिएर हुने  झगडा पुनः नापीपछि समाधान हुने उनले बताए । (रासस)

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु