गृहपृष्ठ मनसुन सुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

मनसुन सुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

मनसुन सुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि जलयात्रा (-याफ्टिङ) रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महिनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष मनसुन सुरु भएपछि असार पहिलो सातापछि मात्र बन्द गरिएको हो ।

कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (-याफ्टिङ) सहज रूपमा सञ्चालन गर्न सकिन्छ । मनसुनसँगै नदीमा पानीको बहाब बढेपछि -याफ्टिङ रोकिएको व्यवसायी होमबहादुर पुनले जानकारी दिए । ‘अघिल्लो वर्ष जुन ५ सम्म -याफ्टिङ गर्न सकेका थियौँ,’ उनले भने, ‘यस वर्ष जुन १५ सम्म मात्रै सञ्चालन भएको हो ।

वर्षाको समाप्तिसँगै असोजको पहिलो साता अर्थात् सेप्टेम्बरदेखि पुन सञ्चालनमा आउने उनले बताए । छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्विसा -याफ्टिङ एन्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ । लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने  गर्दछन् ।

सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई-तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ ।

पर्वतको कुस्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखि सुरु हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ । (रासस)

प्रकाशित समय ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु