गृहपृष्ठ समाजको पहलमा जंगलमा बसेका कुष्ठरोगीलाई घरमै समायोजन

समाजको पहलमा जंगलमा बसेका कुष्ठरोगीलाई घरमै समायोजन

विगत ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध अहिले घर फर्केका छन्र । निस्दी–४ मित्यालका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करिब ७ सय मिटर टाढा जङ्गलमा बस्दै आए थिए ।

जङ्गलमा बास बस्दै करिब ३० वर्ष बिताएका सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि स्थानीय सरकारको पहलमा उनलाई घर फर्काइएको छ । गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, स्वास्थ्यकर्मीको टोलीले उनलाई घरमा फर्काएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए ।

कुष्ठरोग लागेको थाहा पाएपछि विसं २०४० मा गाउँलेले गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजिकै पठाएका थिए । उमेरले करिब ८० वर्ष पुगेका वृद्ध सुनारीले आफू बिरामी भएपछि गाउँलेहरुले आफूलाई हेला गर्ने गरेको स्मरण गरे पनि अहिले घरमा बस्दा रमाइलो लागेको बताए ।

जङ्गलमा बस्दा जङ्गली जनावरको डर लाग्ने बताउँदै अहिले धेरैपछि घरमा आउँदा आफैँलाई अचम्म लागेको सुनारीको भनाइ छ । अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर पहिलेदेखि नै घरमा बोलाउँदा पनि सबैले हेला गर्ने डरले नआएको बताए । सुनारी केही समयदेखि आफ्ना भाइसँगै बस्न थालेका छन् । यसअघि कहिलेकाहीँ गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरे पनि जंगलमा खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आएका थिए । (रासस)

प्रकाशित समय १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु