गृहपृष्ठ सम्मानपछि ज्येष्ठ नागरिक दंग
सम्मानपछि ज्येष्ठ नागरिक दंग
रम्भा गाउँपालिका पाल्पाका ज्येष्ठ नागरिक सम्मान पाएपछि दंग छन् । गाउँपालिकाले गाउँपालिकाभरिका करिब ५ सय ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
पाँच वडा रहेको गाउँपालिकाका पाँचै वडाका नागरिकलाई मिठा खानेकुरा, फलफूल न्यानो कपडालगायत नगदले सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । कतिपयले घरपरिवारले समेत उमेर ढल्कँदै गएपछि माया, सम्मान नगरेका बेला गाउँपालिकाले गरेको सम्मानले आफूहरुलाई जीवन जिउन थप हौसला मिलेको बताएका छन् ।
रम्भा गाउँपालिका–२ का ज्येष्ठ नागरिक तुलवीर सिंजापतिले गाउँपालिकाले आफूहरुलाई निकै माया गरेको अनुभव सुनाए । ‘उनले उमेर ढल्कँदै गएका वृद्धवृद्धालाई स्याहार्नको दुःखले वृद्धाश्रम लैजाने गरेको सुनेको थिएँ, मलाई त उल्टै स्थानीय सरकारले सम्मान ग-यो निकै खुसी लागेको छ ।’ उनी भन्छन्, ‘सरकारले वृद्धभत्ता पनि बढायो, कसैले नहेरे पनि आफैँ स्वरोजगार भएझैँ लागेको छ ।’
गाउँपालिका–२ मा ७५ वर्षमाथिका ९३ वृद्धवृद्धालाई नगद तथा ब्ल्यांकेट वितरण गरिएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बिमा तथा परिचयपत्र वितरण गर्न लागेको वडाध्यक्ष उमानसिं सारुले जानकारी दिए । (रासस)
प्रकाशित समय १२:१८ बजे

















