गृहपृष्ठ कुलेखानी तेस्रोबाट एक महिनापछि विद्युत् उत्पादन हुने
कुलेखानी तेस्रोबाट एक महिनापछि विद्युत् उत्पादन हुने
कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युतगृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करिब एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उक्त आयोजनाले जनाएको छ ।
भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करिब चार किलोमिटर सुरुङ मार्गबाट ल्याई विद्युतगृहमा परीक्षण उत्पादन गरिसकिएको आयोजनाले जनाएको छ । कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणको ४ अर्ब ५० करोड रूपैयाँ लगानीमा कुलेखानी तेस्रो विद्युत् आयोजनाको निर्माण गरिएको थियो ।
चिनियाँ प्राविधिक टोलीले यही असार महिनाभित्र कुलेखानी तेस्रोको निर्माणाधीन विद्युतगृहको बाँकी कामको अनुगमन गरी थप उपकरणहरुका साथै तारहरुको जडान गर्ने र छिट्टै विद्युतको उत्पादन भई काठमाडौँस्थित केन्द्रीय प्रसारणमा जोड्ने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभासबाबु मिश्रले जानकारी दिए । अहिले कुलेखानी प्रथमबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उतपादन हुँदै आएको छ । (रासस)
प्रकाशित समय १४:२२ बजे

















