गृहपृष्ठ छुट्टाछुट्टै तीन दुर्घटनामा १ को मृत्यु २७ घाइते
छुट्टाछुट्टै तीन दुर्घटनामा १ को मृत्यु २७ घाइते
नवलपरासीमा बुधबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । यस्तै अछामको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१६ कुमारवर्ती चोकमा लु२ख १४९३ नंको बसले सोही स्थान बस्ने ७५ वर्षीया पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
नवलपरासीकै मध्यविन्दु नगरपालिका–८ फूलबारीमा ना७ख ६८४१ नंको बसलाई ना७ख ६३ नंको ट्रकले ठक्कर दिँदा बसमा सवार १२ घाइते भएका छन् । घाइतेमध्ये सामान्य १० जनाको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचार हुँदै छ । सुर्खेतका २५ वर्षीय योगेश भासरती र ३५ वर्षीय मणिराम बरकको अवस्था भने गम्भीर रहेको छ । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै छ ।
साँफेबगर-२ झकालेको दुर्घटना घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिएका छन् ।
महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । घाइतेको उद्धार गरी बयालपाटा अस्पतालमा उपचार सुरु गरेको शाहीले बताए । विपरीत दिशाबाट आएको अर्को सवारी साधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १०:३२ बजे

















