गृहपृष्ठ काठमाडौंका ६३ विद्यालयमा चिनियाँ भाषाको पढाइ, शिक्षक चीनबाटै
काठमाडौंका ६३ विद्यालयमा चिनियाँ भाषाको पढाइ, शिक्षक चीनबाटै
काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ ।
ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका हुन् । काठमाडौंको कलंकीमा लर्निङ रियाल्म इन्टरनेसनल (एलआरआई), युरो स्कुल, अक्षरा स्कुल, बागमती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग स्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने गरेको पाइएको छ ।
आर्थिकरूपमा सक्षम मानिएका ज्ञानोदय मावि, जनप्रभात माविलगायत केही सामुदायिक विद्यालयले पनि उक्त भाषा सिकाउन गृहकार्य गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासबीच चिनियाँ भाषाका अतिरिक्त प्राविधिक ज्ञान तथा व्यवसायिक सीप पढाउन सम्झौता गर्न लागिएको मन्त्रालयको योजना महाशाखाका उपसचिव ध्रुव रेग्मीले जानकारी दिए ।
केही निजी विद्यालयले करीब दुई दशकदेखि चिनियाँ भाषा पढाउँदै आएको भए पनि शिक्षा मनत्रालयसँग त्यसको अभिलेख छैन । संयुक्त राष्ट्र संघमा बोलिने विभिन्न भाषामध्ये चिनियाँ भाषा पनि एक हो । भाषा अध्यापनलाई व्यवस्थित तरिकाले अभिलेख गर्न मन्त्रालयअन्तर्गत स्वयंसेवक परिचालन तथा भिसा शाखाको समेत व्यवस्था गरिएको छ । विद्यालयले आवश्यक पूर्वाधार तयार गरेपछि भाषा अध्यापनका लागि स्वयंसेवकको माग गरी उक्त शाखामा पत्राचार गर्ने व्यवस्था छ ।
मन्त्रालयका अनुसार आव २०७४–७५ का लागि ८८ चिनियाँ शिक्षकलाई भिसाका लागि सिफारिस गरिएको छ । भिसा शाखा प्रमुख केवलीराम अधिकारीले तलब लिएर पढाउने विदेशी शिक्षकलाई प्रक्रिया पुगेको अवस्थामा श्रम स्वीकृतिका लागि श्रम तथा रोजगार मन्त्रालयमा पत्राचार गर्ने बताउँदै तलब नलिने (बेतलबी) शिक्षकलाई स्वयंसेवीका रूपमा गृह मन्त्रालयमा कार्य सहमतिको पत्राचार गरी भिसा व्यवस्थापनमा सहजताको प्रबन्ध गरिने बताए ।
अतिरिक्त भाषा ज्ञानका रूपमा मात्र सिकाइएको चिनियाँ भाषाको औपचारिक पाठ्यक्रम तथा पाठ्यपुस्तकको व्यवस्था भने सरकारले गरेको छैन । पाठ्यक्रम विकास केन्द्रले नेपाली अंग्रेजी, फ्रेन्च, रुसी, जर्मन, स्पेनी, चिनियाँ, हिन्दी, जापानी, बंगाली, उर्दू, तिब्बती, संस्कृत, ग्रिक, ल्याटिन, अरबी, पर्सियन, हिब्रु, मैथिली, नेवारी, अवधी, भोजपुरी भाषालाई माध्यमिक तह (कक्षा ९–१०) को पाठ्यक्रममा अध्यापन गराउन अनुमति दिएको जनाइएको छ ।
एलआरआईका संस्थापक अध्यक्ष शिवराज पन्तले नेपाल र चीनबीचको पुरानो मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै भाषा सिकाइले चीनको इतिहास, संस्कृति, आर्थिक प्रगतिलगायत विषयलाई अध्ययन गर्न विशेष महत्व राख्ने विचार व्यक्त गरे ।
संयुक्त राष्ट्र संघमा बोलिने भाषा यहाँका बालबालिकाले सिक्न पाएकामा गौरव व्यक्त गर्दै उनले यस कार्यले दुवै मुलुकका नागरिकबीच बलियो मित्रता कायम हुने बताए । उक्त विद्यालयले प्रत्येक वर्ष करीब एक हजार ८ सय विद्यार्थीलाई चिनियाँ भाषा सिकाउने गरेको जनाइएको छ ।
करीब डेढ अर्बको जनसंख्या पुग्न लागेको छिमेकी राष्ट्र चीनको यहाँस्थित दूतावासले चिनियाँ भाषा अध्यापनका लागि स्वयंसेवकको व्यवस्था गर्ने गरेको छ । ती स्वयंसेवकलाई दैनिक कक्षा तालिका, खाना र बासको व्यवस्था विद्यालयले गर्ने गरेका छन् । (कृष्णराज गौतम/रासस)
प्रकाशित समय ०८:५० बजे

















