गृहपृष्ठ जलेको मोटर मर्मतपछि हेटौँडा सिमेन्ट उत्पादन सुरु
जलेको मोटर मर्मतपछि हेटौँडा सिमेन्ट उत्पादन सुरु
करिब दुई महिनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग शुक्रबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिंकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो ।
उद्योगका महाप्रबन्धक हेमशंकर सिंहका अनुसार करिब ३० लाख रूपैयाँको लागतमा उद्योगको मेसिन मर्मत एवं निर्माण गरेपछि उद्योग सञ्चालनमा आएको हो । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगको मुख्य मेसिन बिग्रेपछि उत्पादन ठप्प भएको थियो ।
उद्योग प्रशासनका अनुसार उद्योगको मोटर आफैँ प्राविधिक कर्मचारी तथा रोयटर पार्टस् ब्यान्डिङको काम वीरगज्जबाट गराइएको छ भने भारतबाट एकजना विषेशज्ञ बोलाई मेसिनको जाँच तथा निरीक्षण गराएपछि उत्पादन सुरु भएको जनाइएको छ । दुई महिनादेखि उद्योग सिमेन्ट उत्पादनको काम बन्द भएको कारण बजारमा हेटौँडा सिमेन्टको अभाव भएको थियो ।
शुक्रबारदेखि उद्योग पूर्ण क्षमतासहित सञ्चालनमा आएपछि अबको एक सातापछि बजारमा सिमेन्ट बिक्री वितरण गरिने उद्योगका महाप्रबन्धक सिंहले जानकारी दिए । वार्षिक ३१ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको उद्योगले यस वर्ष लक्ष्य भने प्राप्त नगर्ने जनाइएको छ ।
यस वर्ष उद्योगले २० लाख बोरा मात्र सिमेन्ट उत्पादन गरेको महाप्रबन्धक सिंहको भनाइ छ । क्लिंकर उत्पादन बन्द भएपछि सिमेन्ट उत्पादनमा पनि ह्रास आएको बताइएको छ । उद्योगले यस आर्थिक वर्षमा ३० लाख बोरा सिमेन्ट उत्पादनको लक्ष्य राखेकामा मेसिन बिग्रेका कारण लक्ष्यमा पुग्न कठिन हुने महाप्रबन्धक सिंहको भनाइ छ ।
उद्योगको उत्पादनमा कमी आएपछि उपभोक्ता र आधिकारिक बिक्रेता चिन्तित भएका थिए । सर्वाधिक रुचाइएको हेटौँडा सिमेन्टको अभावले कतिपय उपभोक्ताले घर निर्माणमा समेत ढिलाइ गरेका थिए ।
निजी क्षेत्रका सिमेन्ट उद्योग आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक प्रतिस्पर्धामा गइरहेको वर्तमान परिस्थितिमा नेपाल सरकारको स्वामित्वमा सञ्चालित यस उद्योगमा पनि आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । हाल यस उद्योगमा मजदुर तथा कर्मचारी र प्राविधिक गरी करिब ४ सय जना कार्यरत छन् । हालै मात्र नाप तथा गुणस्तर कार्यालय वीरगन्जले पनि सिमेन्ट उद्योगको गुणस्तर जाँच गरेको छ । (रासस)
प्रकाशित समय १४:४७ बजे

















