गृहपृष्ठ दुर्गममा दुई वर्ष सेवा अनिवार्य गर्न सुझाव
दुर्गममा दुई वर्ष सेवा अनिवार्य गर्न सुझाव
सांसदले स्थायी सरकारका रूपमा रहने निजामती प्रशासन सञ्चालनमा अन्तरविरोध हुने कानुन मस्यौदा नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा सांसदहरूले एउटा सिद्धान्तमा टेकौँ, कसैलाई काखा र कसैलाई पाखा हुने गरी कानुन मस्यौदा नगरौँ भने ।
निजामती सेवाका जुनसुकै कर्मचारीलाई माथिल्लो तहमा बढुवाका लागि कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा काम गर्ने ऐनमै व्यवस्था गर्न पनि उनीहरूको सुझाव थियो । सरकारले बढुवाका लागि एक वर्ष दुर्गम क्षेत्रमा काम गर्न आवश्यक रहेको भनी ल्याएको प्रस्तावमा सांसदहरूले यसमा एक होइन दुई वर्ष नै दुर्गम क्षेत्रमा गएर काम गरेको रुजु हाजिर पेस गर्नुपर्ने व्यवस्था कानुनमै हुनुपर्ने सुझाव दिए ।
नयाँ भर्ना वा पदोन्नतिमा समेत समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात गर्ने ढंगले कानुन निर्माण गर्न आवश्यक छ भन्दै उनीहरुले नयाँ ऐन बनेपछि राजपत्र अनंकितबाट अधिकृत तहमा बढुवा हुन स्नातक तहको शैक्षिक योग्यता अनिवार्य हुने व्यवस्था गर्न पनि बैठकमा सुझाव दिए ।
बैठकमा सांसद जनार्दन शर्मा, यशोदा सुवेदी, विजय सुब्बा, दिलेन्द्रप्रसाद बडू, नवराज सिलवाललगायतले निजामती सेवालाई चुस्त र जनमुखी बनाउन ऐनलाई युग सुहाउँदो बनाउन आवश्यक भएको बताए । (रासस)
प्रकाशित समय १५:०५ बजे

















