गृहपृष्ठ वडाको पहलमा ७२ घरधुरीलाई स्वरोजगार
वडाको पहलमा ७२ घरधुरीलाई स्वरोजगार
तनहुँको व्यास नगरपालिका– १४ स्थित कुलुङमा रहेका ७२ घरधुरीलाई स्वरोजगारको व्यवस्था गरिएको छ । उक्त गाउँका बासिन्दालाई स्वरोजगार बनाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले स्वरोजगार कार्यक्रमको व्यवस्था मिलाइएको व्यास १४ नं वडाका वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कुलुङ गाउँमा रहेका उक्त घरधुरीमध्ये २० घरमा अर्गानिक तरकारी खेती, २० घरमा स्थानीय जातको कुखुरापालन, १० घरमा घरवास सञ्चालन गरिएको र २२ घरलाई सोही क्षेत्रमा काम गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गाउँका १० घरमा घरवास सञ्चालन गर्न प्रतिघर ४० हजार रूपैयाँ बराबरको आवश्यक सामग्री उपलब्ध गराउनुका साथै घरवासमा आउने पाहुनालाई स्थानीय जातको कुखुराको मासु र अर्गानिक तरकारी खुवाउने उद्देश्यले कुखुरा र तरकारी खेतीमा जोड दिइएको छ । तरकारी खेतीका लागि कृषकलाई आवश्यक बिउ, औषधी, ड्रम, पाइप र टनेल उपलब्ध गराइएको छ भने २० घरलाई ३२ वटाका दरले कुखुरा निःशुल्क दिनुका साथै दाना, औषधि र तालिमको व्यवस्था प्रदान गरिएको छ ।
गाउँमा घरवास सञ्चालन गर्नुपूर्व यहाँका घरवास सञ्चालकलाई गोरखाको बारपार्कस्थित घरवासको भ्रमण गराएर कसरी चलाउनुपर्छ भन्ने ज्ञानसमेत प्रदान गरिएको छ । अहिले उक्त गाउँका मानिसमा खुसियाली छाएको छ ।
मगर बस्ती रहेको कुलुङ गाउँका प्रत्येक घरमा अव्यवस्थित रुपमा सुँगुर पाल्दै आएकाले खोर व्यवस्थापन गरिएको छ । घरसँगै जोडेर सुँगुरको खोर निर्माण गरी सुँगुर पाल्दा दुर्गन्ध भोग्दै आएका त्यस क्षेत्रका स्थानीयले अहिले घरदेखि टाढा सुँगुर पाल्न थालेपछि वातावरणमा सुधार आएको वडाध्यक्ष श्रेष्ठले बताए । ‘घर नजिकबाट सुँगुरको खोर हटाउनु आफ्नो लागि चुनौतीको विषय थियो,’ उनले भने । (रासस)
प्रकाशित समय ११:३५ बजे

















