गृहपृष्ठ खडेरीका कारण धान रोपाइँमा समस्या
खडेरीका कारण धान रोपाइँमा समस्या
खडेरीका कारण असार महिनाको धान रोप्ने मौसममा उदयपुर जिल्लामा धान रोपाइँमा समस्या भएको छ ।
वर्षा नभएका कारण धान रोपाइँमा समस्या भएका बेला खडेरीले साना–साना खोलानालाको पानीसमेत सुक्न थालेको छ । कुलोबाट सिँचाइ गरेर धान रोप्न गर्न समस्या हुन थालेको सम्बन्धित किसान बताउँछन् ।
त्रियुगा नगरपालिका–७ असारीका स्थानीय किसान जनक रेग्मी भन्छन्, ‘यसपटक धान रोपाइँ गर्ने समय भइसक्यो, आकासे-पानी पनि पर्दैन, स्थानीय बरुवा खोलाको कुलोबाट सिँचाइ गरेर धान रोप्ने गर्दै आएको भए पनि पानी सुकेर कमिला हिँड्न थाल्यो, अब यसपटक धान रोपाइँमा ठूलै समस्या भोग्नुपर्ने भयो ।’
चौदण्डी गढी नगरपालिका– ३ हँडियाका किसान देवराम चौधरीको पनि गुनासो उस्तै छ । चौधरी भन्छन्, ‘आकासे-पानी अहिलेसम्म पनि आउनै सकेन, झनै खडेरी बढ्दै गइरहेको छ, देवधार तथा त्रियुगा खोलाको पानी सुकेर कुलो नै नचल्ने अवस्था आयो, यसपटक धान रोपाइँ हुने अवस्था छैन ।’
विगतका वर्षमा चौदण्डीको हँडिया तथा सुन्दरपुर क्षेत्रमा असारको तेस्रो हप्ता सम्ममा ४० प्रतिशत धान रोपाइँ भइसक्थ्यो । यसपटक खडेरीका कारण ५ प्रतिशत पनि धान रोपाइँ नभएको चौधरीले बताए ।
यस्तै कटारी नगरपालिका मरुवाका किसान दोदराज थापाले यसपटक खडेरीको कारण खोलानालामा पानी सुकेर कमिला हिँड्न थालेकाले कुलोबाट धान रोपाइँ हुने आस हराएको बताए ।
जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिलेसम्म उदयपुरमा– ७ प्रतिशत पनि धान रोपाइँ हु्न सकेको छैन । उदयपुरमा बर्सेनि करिब १४ हजार हेक्टरमा धानखेती हुँदै आएको छ ।
अहिलेसम्म एक-दुईपटक वर्षात भएको भए खोलानाला रसाएर पानीको स्रोत बढ्ने थियो । वर्षा कम भए पनि धान रोप्ने सम्भाव हुने थियो तर सामान्य रुपमा पनि पानी नपर्दा खोलानालाको कुलोसमेत सञ्चालन गरेर धान रोप्न असम्भव भएको किसानको गुनासो छ ।
त्रियुगा नगरपालिका– ४ बगाहाका शिवराम चौधरीका अनुसार विगतमा पानी कम परे पनि खोलानालामा पानी नसुक्नाले कुलोबाट धान रोपाइँ हुने गरेको थियो । ‘यसपटकको खडेरीका कारण खोलानालाको पानीको स्रोत नै सुकेकाले धान रोपाइँलाई समस्या हुने भो,’ चौधरीको गुनासो छ ।
जिल्लाको बेलका नगरपालिकाको सेतीखोला, कालीखोला, लालखोला, सिसुवा खोलामा समेत पानीको स्रोत सुक्न थालेकाले अहिले यस क्षेत्रमा कुलोबाट समेत धान रोपाइँ हुन नसकेको बेलका– ३ का धनबहादुर कार्की बताउँछन् । (रासस)
प्रकाशित समय १३:५८ बजे

















