गृहपृष्ठ लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्धविराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजारभन्दा बढीको मृत्यु भएको जनाउँदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो ।
राजधानी त्रिपोलीनजिकै रहेको ताजौरामा गत मंगलबार भएको आक्रमणको घटनाप्रति पनि परिषद्ले निन्दा गरेको छ । उक्त आक्रमणमा परी मृत्यु हुनेको संख्या ५३ भन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । तीमध्ये छजना बालबालिका रहेका छन् ।
घटनामा परी घाइते हुनेहरुको संख्या १३० रहेको पनि डब्लुएचओका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रवक्ता जोएल मिल्मानले घटनामा परी विभिन्न १७ देशका नागरिक मारिएको बताए ।
राजधानी त्रिपोलीको पूर्वी तजौरामा रहेको आप्रवासीहरु बस्ने ठाउँमा भएको हवाई आक्रमणलाई विभिन्न देश र अन्तर्राष्ट्रिय संघ संगठनहरुले विरोध जनाएका थिए । युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरु बसेको ठाउँमा आक्रमण भएको हो ।
लिबियामा पछिल्लो तीन महिनामा भएका विभिन्न आक्रमणका घटनामा परी पाँच सयभन्दा बढी घाइते भएका पनि डब्लुएचओले जनाएको छ । त्यसैगरी आक्रमणमा परेका वा त्यसबाट त्रसित भएका झन्डै एक लाख स्थानीय बासिन्दा आफ्नो घर छोडेर विस्थापित भएका छन् । (रासस)
प्रकाशित समय १४:२६ बजे

















