गृहपृष्ठ काम्ने, -याल निकाल्ने अज्ञात रोगबाट २१ बाख्रा मरे

काम्ने, -याल निकाल्ने अज्ञात रोगबाट २१ बाख्रा मरे

सांकेतिक तस्बिर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकैदिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट -याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । स्थानीय बाख्रापालक प्रेम धानुकको मात्रै सोमबार नौ बाख्रा मरेका छन् ।

‘भमरभोज टोल र पारिफाँटाका बाख्रापालकका बाख्रा मरेका छन्,’ वडाध्यक्ष बहादुरसिंह महराले भने, ‘धेरै बाख्रा मरेको भन्ने खबर आएको छ, विवरण संकलन भइरहेको छ, धमाधम बाख्रा मर्न थालेपछि स्थानीय बासिन्दालाई बाख्राको मासु नखान भनेका छौँ ।’ मरेका बाख्रालाई खाल्डोमा राखेर पुर्न लगाइएको उनले बताए ।

एकपछि अर्को बाख्रा मर्न थालेपछि निकै क्षति व्यहोर्नुपरेको बाख्रापालक धानुकले बताए । मरेका बाख्राको नमुना संकलनको कार्यसमेत गरिएको छ । पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका कार्यालय प्रमुख डा. विष्णु धिताललगायत तीन प्राविधिकको टोली र पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाको टोलीले मरेका दुई बाख्राको परीक्षण गरी नमुना संकलन गरेको शुक्लाफाँटा नगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख पशु अधिकृत रामदत्त भट्टले बताए ।

मथे नामक घाँस खुवाइएपछि धमाधम बाख्रा मरेको जानकारीका आधारमा पशु विज्ञले उक्त घाँसमा एक प्रकारको विषाक्त रसाइन पाइने हुनाले नखुवाउन बाख्रापालकलाई सुझाव दिएका छन् । परीक्षण गरिएका बाख्रामा एक प्रजातिको जुकासमेत पाइएकाले जुकाको औषधि र लिभरटनिक खुवाउन सल्लाह दिएका छन् । ‘मरेका बाख्राबाट लिइएका नमुनाको प्रयोगशालामा परीक्षणपश्चात मात्रै यो कारणले बाख्रा मरेको जानकारी हुन सक्नेछ । यसका लागि एक-दुई दिन लाग्न सक्छ,’ अधिकृत भट्टले भने । (रासस)

प्रकाशित समय १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु