गृहपृष्ठ प्रसारण लाइन आयोजना प्रभावितलाई छ करोड क्षतिपूर्ति

प्रसारण लाइन आयोजना प्रभावितलाई छ करोड क्षतिपूर्ति

bijuli-newskarobar

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करिब ६ करोड रूपैयाँ क्षतिपूर्ति प्रदान गरिने भएको छ ।

प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासी पूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिबापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई ५ करोड ८२ लाख ६४ हजार १ सय ७८ रूपैयाँ प्रदान गर्न लागिएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले बताए । क्षतिपूर्ति निर्धारण समितिले क्षतिपूर्ति दिने उक्त रकम निर्धारण गरेको हो ।

नवलपुरको गैँडाकोट, देवचुली, कावसोती, मध्यविन्दु र  विनयी त्रिवेणीका ४७ घर टहरा तथा ६७ जग्गाधनीका रुखबिरुवाको क्षतिपूर्तिस्वरुप रकम प्रदान गर्न लागिएको हो । जसअन्तर्गत ४७ घर टहराको क्षतिपूर्तिबापत ५ करोड ७१ लाख ६२ हजार ५ सय र ६७ जग्गाधनीका रुखबिरुवाको क्षतिपूर्तिबापत ११ लाख १ हजार ६ सय ७८ रूपैयाँ भुक्तानी गर्न लागिएको आयोजना प्रमुख जैसवालले बताए ।

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माणको क्रममा प्रसारण लाइनको क्षेत्रभित्र परेका घर टहरा तथा रुख बिरुवाको क्षतिपूर्ति भुक्तानी गर्न लागिएको हो ।

नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिकाअन्तर्गत १६ घर, देवचुली नगरपालिकाअन्तर्गत तीन घर, कावासोती नगरपालिकाअन्तर्गत १८ घर प्रसारण लाइनको क्षेत्रभित्र परेका छन् । यस्तै मध्यविन्दु नगरपालिकामा छ र विनयी त्रिवेणी गाउँपालिकामा चार घर प्रसारण लाइनको क्षेत्रभित्र परेकाले सम्बन्धित घरधनीलाई क्षतिपूर्ति रकम प्रदान गर्न लागिएको प्रमुख जैसवालले बताए ।

क्षतिपूर्ति निर्धारण समितिले उपलब्ध गराउनुपर्ने घरधनी, रुख बिरुवा पर्ने व्यक्तिको नाम र रकम निर्धारण गरिसकेकाले आयोजनाबाट रकम निकासा भएपछि चाँडै नै आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ । (रासस)

प्रकाशित समय ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु