गृहपृष्ठ शिखर नगरपालिका-७ बैरकोट वडा कार्यालयमा आगजनी
शिखर नगरपालिका-७ बैरकोट वडा कार्यालयमा आगजनी
डोटी जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिएको जानकारीअनुसार अज्ञात समूहले राति करिब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान जलेर नष्ट भएको छ । आगजनी किन, कसले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताए । उनले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’
आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले बताए । विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने डोटी प्रहरीको अनुमान रहेको छ । अज्ञात समूहको आगजनीपछि उक्त क्षेत्रमा अहिले जिल्ला प्रहरी कार्यालय डोटीसहित नजिकको प्रहरी चौकीबाट ठूलो संख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ । जिल्लामा उक्त वडा कार्यालयसहित अज्ञात समूहले बडीकेदार, जोरायल गरी तीन स्थानीय तहका वडा कार्यालयमा आगजनी गरिसकेको छ । (रासस)
प्रकाशित समय १०:४६ बजे

















