गृहपृष्ठ पश्चिमाञ्चल नेपालकै सम्भावनायुक्त क्षेत्र : अध्यक्ष ढकाल
पश्चिमाञ्चल नेपालकै सम्भावनायुक्त क्षेत्र : अध्यक्ष ढकाल
फाइल तस्बिर
पश्चिमाञ्चल विकास मञ्चको चौधौँ वार्षिक साधारण सभा आइतबार काठमाडौंमा राजधानीमा सम्पन्न भएको छ । साधारण सभाले उद्यमी चन्द्रप्रसाद ढकाललाई अध्यक्षमा चयन गरेको छ । सफल उद्यमी ढकाल यसअघि पनि उक्त मञ्चका अध्यक्ष थिए ।
मञ्चको उपाध्यक्षमा साविक धौलागिरि अञ्चलबाट ज्ञानेन्द्रविक्रम महत, गण्डकीबाट मदन कुमार महत र लुम्बिनीबाट शोभाकर न्यौपाने तथा महासचिवमा यादव भट्टराई, सचिवमा सचिवमा नारायणप्रसाद तिम्सिना र कोषाध्यक्षमा योगराज कँडेल शर्मा निर्वाचित भएका छन् । त्यस्तै साविकका तीन अञ्चलका सबै जिल्लाहरुबाट गरी कार्यसमितिमा १७ जना सदस्य निर्वाचित भएका छन् ।
तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रका गण्डकी, धौलागिरि र लुम्बिनी अञ्चलको विकासका लागि राष्ट्रिय प्रयास र दृष्टिकोण जुटाउने ध्येयले मञ्चको गठन गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष ढकाल ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप र चन्द्रागिरि हिल्स प्रालिका पनि अध्यक्ष हुन् । नेपालको साविक पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय तथा आर्थिक लगायातका क्षेत्रहरुको विकास गरी त्यहाँका प्रतिभाहरुलाई सम्मान गर्ने काम पनि सो मञ्चले गर्दै आएको छ । त्यसैगरी उक्त क्षेत्रको विविध महत्व र सम्भावनालाई उजागर गरेर उक्त मञ्चले हालै एक स्मारिका पनि प्रकाशन गरेको थियो ।
साधारण सभामा अध्यक्ष ढकालले भने, ‘यो मञ्च देशको पश्चिम क्षेत्रमा जन्मिएर विविधि कामको सिलसिलामा देशको विभिन्न भूभागमा पुगेका नागरिकले आफ्नो कर्मथलोबाट जन्मथलोलाई हेर्ने एक उत्कृष्ट चौतारी बनेको छ।’
अध्यक्ष ढकालले देश अहिले संघीय शासन प्रणालीमा गएको भए पनि साविकको पश्चिमाञ्चाल विकास क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि एक भएर साझा चौतारीका रुपमा काम गर्ने गरी विशुद्ध सामाजिक संस्थाका रुपमा यो मञ्च स्थापना भएको जानकारी दिए ।
ढकालले थपे, ‘भूगोल, पर्यावरण, धार्मिक तथा सांस्कृतिक धरोहर तथा अरु कैयन् अद्वीतीय सम्पदाहरुका कारण पश्चिमाञ्चल क्षेत्र नेपालकै एक अलौकिक सम्भावनायुक्त क्षेत्र रहेको कुरामा द्विविधा छैन ।’
प्रकाशित समय १२:५२ बजे

















