गृहपृष्ठ आचरणविपरीत काम गर्ने २८० प्रहरीमाथि विभागीय कारबाही

आचरणविपरीत काम गर्ने २८० प्रहरीमाथि विभागीय कारबाही

nepal police_newskarobar

प्रदेश २ प्रदेश प्रहरी कार्यालयले २ सय ८० प्रहरीलाई विभागीय कारबाही गरेको छ । पदीय आचरणविपरीत काम गर्ने २८० प्रहरी गत वर्ष कारबाहीमा परेको प्रदेश २ क प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

प्रदेश २ आठ जिल्लाबाट एक जना प्रहरी नायब उपरीक्षक, ४ जना प्रहरी निरीक्षक, १७ जना प्रहरी नायब निरीक्षक, ३७ जना प्रहरी सहायक निरीक्षक, ६३ जना प्रहरी हवल्दार र १५७ जना प्रहरी जवान र कार्यालय सहायक एक जनालाई विभागीय कारबाही गरिएको महतोले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषामा मात्रै प्रहरी संगठन ऐनविपरीत काम गर्ने ३२ प्रहरी विभागीय कारबाहीमा परेका छन् । प्रहरीले आर्थिक वर्ष २०७५/७६ मा प्रहरी जवानदेखि इलाका प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक समेतलाई विभागीय कारबाही गरेको धनुषाका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

गत वर्ष धनुषाका विभिन्न दर्जाका ५ प्रहरीलाई निलम्वन गरिएको छ भने १२ जनालाई नसिहत दिइएको छ । दुई प्रहरीको सुरुको तलब स्केल घटुवा र दुई जनालाई सचेत गराइएको उनले बताए । एक जना प्रहरीको तलब वृद्धि घटुवा गरिएको छ ।

प्रहरीको विभागीय कारबाहीमा पर्नेमा इलाका प्रहरी कार्यालय ढल्केवरका तत्कालीन प्रहरी निरीक्षक सरोज राई, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन इन्चार्ज प्रहरी निरीक्षक अरुण कुशवाहा, इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक अवधलाल यादवलगायत छन् ।

प्रकाशित समय १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु