गृहपृष्ठ पोखराका ११ वटा वडा कार्यालय चोरी गर्ने थापा पक्राउ
पोखराका ११ वटा वडा कार्यालय चोरी गर्ने थापा पक्राउ
कास्की प्रहरीले करिब १५ महिनापछि पोखराका विभिन्न वडामा चोरी गर्दैै हिँड्ने किशोर थापासहित २ जनालाई पक्राउ गरेको छ । पोखराका ११ वटा वडा कार्यालयमा चोरी गर्ने काठमाडौं ११ घर भई हाल पोखरा १० कालिकाचोक बस्दै आएका ५१ वर्षीय थापा र चोरीका सामान खरिद गर्ने मकवानपुर १२ घर भई काठमाडौं कम्प्युटर सोलुसन पसल सञ्चालक ३६ वर्षीय रुपचन्द्र गोपालीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पोखरामा वडा कार्यालय चोरी भएको करिब १५ महिनापछि कास्की प्रहरीले चोरीमा संलग्न र सामान खरिद गर्ने थापा र गोपाली दुवै जनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले थापालाई पोखरा ६ लेकसाइडबाट र गोपालीलाई काठमाडौं उनकै निवासबाट नियन्त्रणमा लिएको हो । हाल थापा र गोपालीलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दा दर्ता गरी वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
२०७५ जेठ २ गते पोखरा १२ माटेपानीको वडा कार्यालयबाट चोरीको सुरुवात भएको थियो भने २०७६ साउन २१ गते पोखरा ६ को वडा कार्यालयमा चोरी भएको थियो । साउन २६ गते वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले पोखरा ६ सहिदचोकबाट किशोर थापालाई शंकास्पद व्यक्तिको रुपमा नियन्त्रणमा लिएर सोधपुछपश्चात उनी पोखराका वडा कार्यालयमा चोरी गर्न संलग्न भएको खुलेको एसपी कार्कीले बताए । पोखराका १५, १४, २९, ५, १३, १९, ३१, १६, २५ को वडा कार्यालयमा चोरी भएको थियो ।
सिसि क्यामरा फुटेज र लगाएको कपडाका आधारमा उनीलाई पक्राउ गर्न थप सहज भएको उनले जनाए । चोरी गरेका कम्पुटर, ल्याप्टप, क्यामरासहितका वस्तु थापाले काठमाडौैं कलंकीमा गोपालीले सञ्चालन गरेको कम्प्युटर सलुसनले खरिद गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
थापा यसअघि डाँका चोरी मुद्दामा काठमाडौं केन्द्रीय कारागारमा ५ वर्ष सजाय (२०४६–२०५१ सम्म), चोरी मुद्दामा केन्द्रीय कारागारमै ३ वर्ष (२०७१–२०७४ सम्म) सजाय भोगिसकेको प्रहरीले जनाएको छ । वडा कार्यालयमा सुरक्षा गार्डहरु कोही नहुने हुँदा कार्यालयमा चोर्न सजिलो हुने भएकाले राति करिब ११ः३० देखि १२ः३० बजेको समयमा अधिकांश वडामा चोरी गरेको थापाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
थापाको कोठाबाट कालो रंगको झोलामा लुकाएर राखेको अवस्थामा एक थान तोसिवा ल्यापटप, चार्जर एक थान, सोनी क्यामरा एक थान, फलामको रड २ थान, स्क्रु ड्राइभर एक थान, कालो पञ्जा २ जोर र कालो मास्क एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, गोपालीले सञ्चालन गर्दै आएको कम्प्युटर सोलुसनबाट विभिन्न कम्पनीका ल्यापटप ३ थान, सिपियु ९ थान र मनिटर १७ थान चोरीका सामान बरामद गरेको प्रहरीले जानकारी गराएको छ ।
बरामद भएका सामान सम्बन्धित व्यक्ति तथा संस्थालाई पहिचान खुलेका आधारमा प्रदान गरिने एसपी कार्कीले जानकारी दिए । चोरी भएका अधिकांश सामान प्रहरीले बरामद गरिसकेको जनाएको छ ।
प्रकाशित समय १५:२७ बजे

















